भू-माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको सांसद केसीको आरोप

काठमाडौँ । सांसद चित्रबहादुर केसीले किसानको सट्टा भू- माफियालाई फाइदा पुग्ने गरी बजेट बनाइएको आरोप लगाए । उनले सोमबार प्रतिनिधिसभामा भएको बजेटको सैद्धान्तिक छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

‘रोजगारी सिर्जना गर्ने क्षेत्र कृषि हो । तर किसानको सट्टा भू- माफियालाई फाइदा पुग्ने बजेट बनाइएको छ । किसानलाई बजेटमा जोडिएन,’ उनले भने,‘यहाँ सम्मकी किसानका उत्पादन बिक्री नभएको बेलामा कृषिजन्य वस्तु आयातमा लगाइएको अग्रिम कर हटाएर नेपाली कृषि उत्पादनलाई ध्वस्त पार्न खोजिएको छ ।’

रोजगारी सिर्जना गर्ने अर्को क्षेत्र उद्योग भएकाले सरकारी उद्योग निजीकरण गर्नु उपयुक्त नभएको तर्क गरे । ‘विगतमा मित्र राष्ट्रको सहयोगमा सार्वजनिक रूपमा सञ्चालन गरिएका जनकपुर चुरोट कारखाना गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी उदयपुर सिमेन्ट कारखानालाई बिक्री गर्ने भनेर यसै बजेटमा परिसकेको छ ,’ उनले भने,‘राज्यमा भएका उद्योग निजीलाई दिने सन्दर्भमा नयाँ उद्योग खोल्न राज्य पछि परेको उद्योग नयाँ रोजगारी सिर्जना गर्न सक्ने भएन ।’

साथै श्रम रोजगार क्षेत्रको बजेट पर्याप्त नभएको बताए । ‘अब श्रम रोजगारलाई जम्मा ४ अर्ब बजेट छुट्याएको छ । यो बजेटले कति रोजगारी सिर्जना गर्ला रु’ उनले भने,‘नेपालीको अगाडि एउटै उपाय रहन्छ युवालाई विदेश पठाएर कमिसन खाने र विदेशबाट युवाले पठाएको रेमिट्यान्सबाट संसद् र तीनै तहको सरकार चलाउने ।’

बजेटले ठुला होटेल रिसोर्टजस्ता व्यवसायलाई कर छुट दिएको तर किसान मजदुर निम्न आय भएकामाथि कर लगाएको बताए । सरकारले शिक्षकका माग सम्बोधन हुने गरी बजेट विनियोजन नगरेको बताए । यस्तै स्वास्थ्यमा न्यून बजेट विनियोजन भएको साथै शिक्षा र स्वास्थ्यबाट राज्य पन्छिएको बताए ।

यस्तै नदीजन्य सामग्री विदेशमा बिक्री गर्दा नेपाललाई पर्ने प्रभावबारे ध्यान जान जरुरी रहेको उनको तर्क थियो । साथै उनले यो बजेटलाई राष्ट्रिय जनमोर्चा पार्टीले समर्थन नगर्ने तर्क गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *