महामन्त्री धवलशमशेर पुगे अदालत, बयान सुरु
काठमाडौं । राज्यविरुद्धको अभियोग लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाको बयान काठमाडौं जिल्ला अदालतमा सोमबारबाट सुरु भएको छ।
जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासमा राणाको बयान प्रक्रिया अगाडि बढाइएको हो। उनी सोमबार बिहान अदालतमा स्वइच्छाले उपस्थित भएका थिए। राणामाथि २०८१ चैत १५ गते तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा संलग्न भएको आरोपमा राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत अपराधसम्बन्धी चारवटा मुद्दा दायर गरिएको छ । अभियोजन पक्षले उनीमाथि कठोर सजाय माग गरेको छ।
प्रहरीले यसअघि राणालाई अनुसन्धानपछिको प्रक्रियामा हाजिर जमानीमा रिहा गरेको थियो। स्वास्थ्य उपचारको कारण देखाएर छुटेका राणा मुद्दा दायर भएपछि लामो समयसम्म सम्पर्कबाहिर रहेका थिए। सोमबार भने उनी अदालतमा उपस्थित भएका छन्। तीनकुने घटनासँग सम्बन्धित मुद्दामा यसअघि ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाइसकिएको छ। ।