‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइन्- प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् ।
आज प्रेस सेन्टर चितवनले शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन् । उनले भने, ‘यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईंहरुले पनि थाहा पाउनुभएको छ । र हामीले पनि थाहा पाएकै छौँ ।’ यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ । यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ । उनले भने, ‘मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन ।’
प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए । उनले भने, ‘हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।’