शास्त्रीको निधनमा कांग्रेसले तीन दिन झण्डा आधा झुकाउने
काठमाडौं । नेपाली कांग्रेसको बुधबार बिहान बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता ढुण्डीराज शास्त्रीको निधनप्रति दुख व्यक्त गर्दै झण्डा झुकाउने निर्णय गरेको छ । पूर्वमन्त्री एवं समाजवादी चिन्तक समेत रहेका शास्त्रीको निधनप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै पारितशोक प्रस्ताव पारित गरेको छ । शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा असार २ गते भएको निधन भएको थियो । विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका स्वर्गीय शास्त्रीले प्रजातन्त्र पुनस्र्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए ।
‘२०८२ असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने’, बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । त्यस्तै शास्त्रीको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।