ग्वार्कोको ओभर पास सञ्चालनमा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन
काठमाडौ । काठमाडौं उपत्यकाको निकै व्यस्त सडक चक्रपथअन्तर्गत ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसको विधिवतरूपमा उद्घाटन गरेका छन् । ओभरपासको शिलालेख प्रधानमन्त्रीले अनावरण गरे भने उद्घाटनका लागि राखिएको रिबन प्रधानमन्त्रीको आग्रहमा ट्राफिकका एसएसपी नवराज अधिकारीले काटेका थिए । चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चाप व्यवस्थापन गर्न सरकारले ग्वार्कोमा ओभर पास निर्माण गरेको हो । चक्रपथको सातदोबाटो कोटेश्वर सडक खण्ड र मंगलबजार इमाडोल लुभूमा कुद्ने सवारीलाई सुरक्षित, सहज तथा व्यवस्थित भएको छ । अब चक्रपथको गाडी नरोकी सिधै ओभर पासमाथिबाट गुड्नेछ । मंगलबजारदेखि इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी भने पुलमुनिबाट जानेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौं उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । दुई वर्षभित्र सक्ने गरी २०७८ साल फागुन १२ गते आशिष(समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ओभर पास ठेक्का सम्झौता भएको थियो । तर, तोकिएको समयमा सम्पन्न नभएपछि २०८१ असार सम्का लागि दोस्रोपटक र पुनस् २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति निर्माणको काम रोकिएको थियो । केन्द्रका प्रवक्ता प्रदीप भण्डारीका अनुसार पटकपटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि ठेकेदार कम्पनीलाई हालसम्मको करिब एक करोड ४७ लाख हर्जना तिराएर योजना सम्पन्न गरिएको हो । अप्रोच सडक निर्माणका क्रममा माटो थपिँदै जाँदा सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएकाले पनि थप समय लागेको भण्डारीले बताए । ग्वार्को ओभरपासको कुल र्याम्प र पुलको लम्बाइ ५७६.२ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो ओभरपास रहेको छ । दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको र्याम्पको दूरी भने १०.२ मिटर रहेको छ । ‘बीचको पुल खण्डको लम्बाइ भने ३६.२ मिटर छ । यसरी दुईवटै र्याम्प र पुल मिलाएर ओभरपासको कुल लम्बाइ ५४० मिटर (र्याम्प) प्लस ३६.२ मिटर (पुल) गरी ५७६ दशमलव २ मिटर हुन्छ । यस पुलको चौडाइ १६.४ मिटर छ, जसमा चार लेन सडक सञ्चालन हुनेगरी डिजाइन गरिएको हो’, भण्डारीले सुनाए । केन्द्रका प्रवक्ता भण्डारीले तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थपिएकव छ । करिब १७ करोड ६ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएकोमा काम सक्दा अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ । भण्डारीका अनुसार उक्त सम्झौताअनुसार निर्माणपश्चात निर्माण कार्यमा ५ वर्षसम्म र डिजाइनमा १० वर्षसम्म कुनै त्रुटि देखिए उक्त त्रुट सुधार गर्ने पूर्ण जिम्मेवारी निर्माण व्यवसायीको रहन्छ ।