रूपन्देही–३ को प्रतिनिधि सभा र मनाङको प्रदेश सभामा कात्तिकमा उपचुनाव गराउने तयारी
काठमाण्डौं । सरकारले रूपन्देही–३ को प्रतिनिधि सभा र मनाङको प्रदेश सभा सदस्यको रिक्त पदमा कात्तिकको दोस्रो हप्ता उपचुनाव गराउने तयारी थालेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आगामी कात्तिकको दोस्रो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गराउनेबारे परामर्श गरेको हो। रूपन्देही ३ बाट निर्वाचित राप्रपा सांसद दीपक बोहोराको निधन भएपछि उक्त स्थान रिक्त छ। मनाङ १ (२) बाट निर्वाचित दीपक मनाङेबारे अदालतको आदेशपछि पद खाली भएको थियो। त्यस्तै राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा पनि निर्वाचन आयोगका पदाधिकारीहरूले परामर्श गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। ‘प्रतिनिधि सभाका सदस्यको रूपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेश सभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ।
यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो। प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाएका थिए। उनले २०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझाव दिएका थिए। आयुक्तहरू जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारी भेटमा थिए।