गीतकार बरिष्ठ डा.रिजाललाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कारबाट सम्मानित
काठमाडौँ । गीतकार, कलाकार तथा फिल्म निर्माता बरिष्ठ डा.भोला रिजाल ‘लाल–समुन्द्रा राष्ट्रिय बहु प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । विश्व सङ्गीत दिवसको अवसर पारेर शनिबार नेपाल संगीतक सङ्घले काठमाण्डौंमा एक कार्यक्रम गर्दै पुरस्कार प्रदान गरेको हो । पुरस्कारमा नगद २५ हजार समेत रहेको छ । डा.रिजाल चिकित्सा क्षेत्रका चर्चित गाईनोलोजिस्ट पनि हुन् । रिजालको नेपाली कला र चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा शिव शङ्कर मानन्धरलाई राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार, रत्न शमशेर थापा राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार, प्रेमध्वज प्रधान राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार, पुष्प नेपाली राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार, फत्तेमान राजभण्डारी राष्ट्रिय युवा तथा साङ्गीतिक सम्मान तथा पुरस्कार, शुभबहादुर सुनाम राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार, राजेश–लक्ष्मी नृत्य गुरु राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार र नेपाल साङ्गीतिक सङ्घ राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार पनि विभिन्न स्रष्टाहरूलाई प्रदान गरिएको थियो ।
पुरस्कार पछिल्लो समय सपरिवार अमेरिका बस्दै आएका बहुप्रतिभाशाली व्यक्तित्व लेखक–निर्देशक–सम्पादक विकास घले गुरुङले आफ्ना बाबु लाल–आमा (समुन्द्रा) गुरुङको स्मृतिमा ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार स्थापना गरेका हुन् । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी–प्रशिक्षक, नृत्य सिद्धान्त विज्ञसमेत रहेका गुरुङले अग्रजको सम्मान र नवयुवा प्रोत्साहनका लागि पुरस्कार स्थापना गरिएको जानकारी दिए । यो पुरस्कार यसअघि ओम प्रतीक गुरुङ, भीमार्जुन आचार्य, कोमल वली, निर शाह, महजोडी र विजय लामाले प्राप्त गरिसकेका छन् । पुरस्कार प्रत्येक वर्षको जुन २१ अर्थात् आजको दिन बाँड्ने गरिन्छ ।