सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकाली लगायतलाई ‘अक्सिजन कन्सेन्ट्रेटर’हस्तान्तरण गरे । उक्त अवसरमा शाखा प्रबन्धक थकालीले, बैंकले प्रत्येक वर्ष विभिन्न संघ संस्था र बिद्यालयहरूमा स्वास्थ्य तथा शैक्षिक सामग्री तथा छात्रवृत्ति उपलब्ध गराउँदै आएको र यो क्रमलाई आगामी दिनमा पनि जारी राख्ने बताए । स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रकी अनमी परियारले ‘अक्सिजन कन्सेन्ट्रेटर’ले विशेषगरी दम र निमोनियाका विरामीको उपचारमा सहयोग पुग्ने बताए । उनले स्वास्थ्य संस्थाका लागि अति आवश्यक रहेको ‘अक्सिजन कन्सेन्ट्रेटर’ उपलब्ध गराएकोमा सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको उल्लेख गरे ।
कार्यक्रममा घरपझोङ गाउँपालिका वडा नम्बर ३ का सदस्य थकालीले स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री उपलब्ध गराएर नागरिकको स्वास्थ्य उपचारमा सांग्रिला डेभलपमेन्ट बैंकले ठुलो योगदान गरेको बताए । आम नागरिकको विश्वास र भरोसाका कारण यस साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको साग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दछ ।