अमला रोकालाई आज पनि अदालतमा उपस्थित गराइँदै
काठमाडौं । सुन प्रकरणकी प्रतिवादी अमला रोकालाई आज पनि अदालतमा उपस्थित गराइँदैछ ।
शुक्रबार प्रहरीले टोखाबाट गिरफ्तार गरिएकी रोका आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको थियो । आइतबार न्यायाधीश बलराम लम्सालको इजलासमा थुनछेक बहस भएको थियो । बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेर रोकालाई प्रहरी हिरासतमा पठाइएको थियो ।
आज उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्नेमध्ये आदेश आउन सक्ने बताइएको छ । २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचबाट शंकास्पद सुन बाहिरिएपछि यो घटनाको पटाक्षेप भएको थियो । राजस्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले गरेको अलग अलग अनुसन्धानबाट अमलाको सक्रिय संलग्नता पुष्टि भएको थियो ।