अमेरिका र ट्रम्पविरुद्ध विश्वभर प्रदर्शन
काठमाडौं । इरान र इजरायलबीचको तनाव उत्कर्षमा पुगेको बेला अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक स्थलमा आक्रमणको घोषणा गरेपछि अन्तर्राष्ट्रिय समुदायमा तीव्र प्रतिक्रिया सुरु भएको छ।
यस्तो चर्को भूराजनीतिक परिस्थिति झनै जटिल बनाउने चेतावनी विश्लेषकहरूले दिइरहेका छन् । यसैबिच, मुस्लिम र अरब देशहरूले इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणको आलोचना गरे र यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन्।
ट्रम्पले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत गरेको आक्रमणको घोषणालाई धेरै देशहरूले युद्धको संकेत र अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनका रूपमा लिएका छन्। विशेष गरी इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकामाथि संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घन गरेको गम्भीर आरोप लगाउँदै यस्तो कार्यले क्षेत्रीय स्थिरता तहसनहस पार्न सक्ने चेतावनी दिएका छन्।
ट्रम्पको घोषणाले अमेरिकी विदेश नीति फेरि पनि एकपक्षीय निर्णय, सैन्य हस्तक्षेप र तनाव बढाउने प्रवृत्तिमा फर्किएको भन्दै व्यापक आलोचना भइरहेको छ। अमेरिकी डेमोक्र्याट नेताहरू आफैंले यस्तो कार्यलाई ‘दायित्वविहीन’ र ‘अनपेक्षित परिणाम निम्त्याउने’ भन्दै विरोध गरेका छन्।
ट्रम्पको यो निर्णयपछि विश्वका केही देशहरूमा अन्तर्राष्ट्रिय स्तरमा अमेरिका र ट्रम्पविरुद्ध विरोध प्रदर्शन सुरु भएको छ।राजनीतिक विश्लेषकहरूको भनाइमा, यो कदम अमेरिकी गम्भीर कूटनीतिक कमजोरी हो, जसले इरान-इजरायल द्वन्द्वमा सन्तुलनको भूमिका खेल्नुको सट्टा अमेरिका पक्षपाती युद्धप्रेमीको भूमिकामा उभिएको स्पष्ट संकेत हो।
ट्रम्पको अभिव्यक्तिपछि मुस्लिम तथा अरब राष्ट्रहरूमा तीव्र विरोध प्रदर्शन भएको छ। विभिन्न देशका राजधानीहरूमा जनताले अमेरिकी झण्डा जलाउँदै युद्धविरोधी नाराबाजी गरेका छन्।








