लामो समय पानीमा औँला पर्दा किन चाउरिन्छ ?
तपाईंले कत्तिको याद गर्नु भएको छ, नुहाउँदा, लुगा धुँदा होस् वा स्वमिङ पुलमा घन्टौं भिज्दा हातको औँला खुम्चिएर किन चाउरी पर्छन् ? चाउरी पर्दा पानीमा डुब्नु अघि पहिले नरम र आकर्षक देखिएको छाला एकैछिनमा फुलेर कक्रक्क र नराम्रो देखिन थाल्छ । एक नयाँ अध्ययनले भन्छ – यो परिवर्तन रोचक छ । पानीमा भिजेपछि हरेक पटक औंलाहरूका छाला खुम्चिँदै चाउरी पर्छन् । ती चाउरीहरूले सधैं एउटै ढाँचा बनाउँछन् । फेरि एकैछिनमा ती चाउरिपना गायब हुन्छन् । हेर्दा सामान्य लाग्ने यो परिवर्तनको सिलसिलाको पछाडिको रहस्य खोज्न विभिन्न समयमा विभिन्न विज्ञहरूले अध्ययन गरिरहेका हुन्छन् । पछिल्लो खोजले पानीमा डुबाउँदा हाम्रो हात र खुट्टाको औंलाको छाला मात्र किन चाउरिन्छ ? पाखुरा, ढाड, खुट्टा वा अनुहारको छाला भने पानीमा डुबाए पनि किन पहिलेजस्तै रहन्छ रु भन्ने कुरामा पछिल्लो खोज केन्द्रित छ । वैज्ञानिकहरूले सुरुमा यो चाउरी किन पर्छ होला भनेर सोचे । तर, पछिल्लो समयमा उनीहरूले यो किन हुन्छ र यसको के उद्देश्य होला भन्ने प्रश्नमा पनि ध्यान दिएका छन् । जसमा सबैभन्दा रोचक कुरा पत्ता लाग्यो । त्यो हो, चाउरी परेका औंलाहरूले हाम्रो स्वास्थ्यबारे संकेत गरिरहेका हुन्छन् । वैज्ञानिकले पत्ता लगाएअनुसार तिनले टाइप २ मधुमेह, सिस्टिक फाइब्रोसिस, स्नायुको चोट र मुटुको समस्याजस्ता रोगहरू संकेत गर्न सक्छ ।
किन चाउरिन्छन् औंलाहरू ?
४० डिग्री सेल्सियस, वा १०४ डिग्री फरेनहाइट तातोपानीमा करिब ३।५ मिनेटमा औंलाहरू चाउरिन सुरु हुन्छ । चिसोपानीमा २० डिग्री सेल्सियस, वा ६८ डिग्री फरेनहाइटमा औँला राख्दा १० मिनेटसम्म लाग्न सक्छ । अधिकतम चाउरी हुनका लागि करिब ३० मिनेट पानीमा डुबाउनुपर्छ । रोचक कुरा के छ भने हालैको अनुसन्धानले तातो भेनेगरयुक्त पानीमा हात डुबाउँदा छाला मात्र ४ मिनेटमै चाउरिन सक्छ । औंलाको छाला चाउरिनु पहिले एक सामान्य प्रतिक्रिया मानिन्थ्यो, जसमा छालाको माथिल्लो तहमा पानी प्रवेश गरेर कोषिकाहरू फुल्छन् । यो प्रक्रियालाई ओस्मोसिस भनिन्छ, जसमा पानीका कणहरू झिल्लीमार्फत एक ठाउँबाट अर्को ठाउँमा सन्तुलन कायम गर्न जान्छन् । तर, सन् १९३५ देखि नै वैज्ञानिकहरूले यो प्रक्रियामा ओस्मोसिसभन्दा बढी कुरा संलग्न छ भन्ने शंका गरेका थिए । सन् १९३५ को कुरा हो । चिकित्सकहरूले मेडियन नर्भ ९हातसम्म पुग्ने मुख्य स्नायु० काटिएको बिरामीहरूको अध्ययन गर्दा उनीहरूको औंलाहरू पानीमा डुबाउँदा चाउरिँदैनथे। मेडियन नर्भले पसिना आउने र रक्तनलीहरू खुम्च्याउने जस्ता स्वचालित (सिम्प्याथेटिक) कार्यहरूलाई नियन्त्रण गर्छ । यो खोजले औंलाहरूको छाला पानीमा चाउरिनु वास्तवमा स्नायु प्रणालीद्वारा नियन्त्रित हुने देखाएको थियो । उनीहरूले स्नायुको क्षति जाँच्न हातलाई पानीमा डुबाउने सरल परीक्षणको प्रस्ताव गरे, जसले रक्तप्रवाह जस्ता स्वचालित प्रक्रियाहरूलाई असर गर्छ । सन् २००३ मा सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा कार्यरत न्यूरोलोजिस्टहरू एनार वाइल्डर–स्मिथ र एडलाइन चाउले स्वयंसेवकहरूको हात पानीमा डुबाएर रक्तसञ्चार मापन गरे । यसरी मापन गर्दा औंलाहरूको छाला चाउरिन थालेपछि रक्तप्रवाह उल्लेखनीय रूपमा कम हुने देखे । औंलाहरूमा रक्तनलीहरू अस्थायी रूपमा खुम्च्याउने क्रिम लगाए, त्यसले पानीमा डुबाउँदा जस्तै चाउरिपना उत्पन्न गर्यो । सो अध्ययन गर्ने म्यानचेस्टर मेट्रोपोलिटन विश्वविद्यालयका न्यूरोसाइन्टिस्ट र मनोवैज्ञानिक निक डेभिस भन्छन्, ‘औंलाहरूको छाला फिक्का हुन्छ, किनकि रक्त आपूर्ति छालाको सतहबाट कम हुन्छ ।’ वाइल्डर–स्मिथ र उनका सहकर्मीहरूले उल्लेख गरेअनुसार जब हाम्रो हात पानीमा डुब्छ, औंलाहरूको पसिनाको नली खुल्छ र पानीभित्र पस्छ, जसले छालामा हुने नुनको सन्तुलन बिगार्छ । यो नुनको असन्तुलनले औंलाहरूको स्नायु तन्तुहरू सक्रिय हुन्छन्, जसले पसिनाको नली वरपरका रक्तनलीहरू खुम्च्याउँछ । यसले औंलाको मासुको भागको मात्रालाई थोरै कम गरी माथिको छालालाई तल तान्छ र चाउरी बनाउँछ । चाउरीको ढाँचा छालाको बाहिरी तह (एपिडर्मिस) र त्यसको तलको तहसँग जोडिएको तरिकामा निर्भर हुन्छ ।
यो खोज कसरी सुरु भयो ?
निक डेभिसलाई उनको बच्चाले नुहाउँदा औंलाहरू किन चाउरिन्छ भनेर सोधेको प्रश्नले यो यसबारे खोजी गर्न प्रेरित गरेको थियो । सन् २०२० मा लन्डनको साइन्स म्युजियममा ५०० स्वयंसेवकहरूको सहयोगमा डेभिसले प्लास्टिकको वस्तु समात्न कति बल चाहिन्छ भनेर मापन गरे । अपेक्षित रूपमा, सुख्खा र चाउरी नपरेका हातले कम बल प्रयोग गरेर वस्तु समात्न सक्थे । तर, जब उनीहरूले केही मिनेट पानीमा हात डुबाएर चाउरी बनाए, चाउरी परेका हातले भिजेका भए पनि सुख्खा र भिजेको हातको बीचको बल प्रयोग गरेर वस्तु समात्न सक्थे । ‘नतिजा एकदम स्पष्ट थियो, ‘डेभिस भन्छन्, ‘चाउरीले औंलाहरू र वस्तुबीचको घर्षण बढायो । हाम्रा औंलाहरू यो सतहको घर्षण परिवर्तनप्रति संवेदनशील हुन्छन् र हामीले वस्तु सुरक्षित रूपमा समात्न कम बल प्रयोग गर्छौं ।’ डेभिसको खोजले अन्य अनुसन्धानकर्ताहरूको नतिजासँग मेल खान्छ, जसले औंलाहरूको चाउरीले भिजेका वस्तुहरू समाउन सजिलो बनाउँछ । सन् २०१३ मा, न्युक्यासल विश्वविद्यालय, बेलायतका न्यूरोसाइन्टिस्टहरूको टोलीले स्वयंसेवकहरूलाई विभिन्न आकारका सिसाका गुच्चा र माछा मार्ने वजन एक कन्टेनरबाट अर्कोमा सार्न लगाए । एक अवस्थामा वस्तुहरू सुख्खा थिए, र अर्कोमा पानीले भरिएको कन्टेनरको तल थिए । चाउरी नपरेका औंलाहरूले भिजेका वस्तुहरू सार्न सुख्खा वस्तुहरूको तुलनामा १७ प्रतिशत भन्दा बढी समय लाग्यो । तर, जब औंलाहरू चाउरी परे, उनीहरूले भिजेका गुच्चा र माछा मार्ने कन्टेनरको तौल चाउरी नपरेको अवस्थाको तुलनामा १२ प्रतिशत छिटो सार्न सक्थे । रोचक कुरा, सुख्खा वस्तुहरू सार्न चाउरी परेका वा नपरेका औंलाहरूमा कुनै फरक थिएन । कतिपय वैज्ञानिकले औंलाहरूको चाउरीले टायर वा जुत्ताको तलको रेन ट्रेड जस्तै काम गर्छ भन्ने गर्छन् । चाउरीले बनेका नलीहरूले औंला र वस्तुको सम्पर्क बिन्दुबाट पानी बाहिर फाल्छ । हाम्रा पुर्खाहरूले भिजेका वस्तु र सतहहरू समात्न औंलाहरू र खुट्टाको औंलाहरू चाउरिने विकास अनुकुल गरेको देखाउँछ । ‘किनकि यसले पानीमा राम्रो पकड दिन्छ, मलाई लाग्छ यो धेरै भिजेको अवस्थामा हिँडडुल गर्न वा पानीमा वस्तुहरू हातले चलाउनसँग सम्बन्धित छ, ‘अध्ययनका नेतृत्वकर्ता इभोल्युशनरी न्यूरोसाइन्टिस्ट टम स्मल्डर्स भन्छन् । यसले हाम्रा पुर्खाहरूलाई भिजेका चट्टानहरूमा हिँड्न वा हाँगाहरू समात्न महत्त्वपूर्ण फाइदा दिएको हुन सक्छ । वा, यो सिपी जस्ता खाना समात्न वा खोज्न सहयोगी भएको हुन सक्छ ।
चाउरीबाट के बुझ्न सक्छौं ?
पुरुषको तुलनामा महिलाको औंला चाउरिन बढी समय लाग्छ । यस्तो किन हुन्छ ? टुंगो लागिसकेको छैन । यसरी चाउरी परेको छाला सामान्यतया १० देखि २० मिनेटभित्र किन सामान्य अवस्थामा फर्किन्छ ?
अर्को प्रश्न, औंलाहरू अरुबेला चाउरी किन हुँदैनन् ?
यसको एउटा कारण हुन सक्छ, चाउरीले हाम्रो संवेदनामा परिवर्तन ल्याउँछ । हाम्रा औंलाहरू स्नायुले भरिएका हुन्छन्, र छालाको चाउरीले हामीले छुने कुराहरूको अनुभवलाई परिवर्तन गर्छ । यद्यपि एक अध्ययनले छुँदा वस्तुहरू छुट्याउने क्षमतालाई असर नगरेको देखायो । ‘कतिपयलाई चाउरी परेका औंलाहरूले केही समात्न असजिलो लाग्छ, किनकि यो अनौठो अनुभव हुन्छ, ‘डेभिस भन्छन् । ‘यो छालाका रिसेप्टरहरूको स्थिति परिवर्तन भएको कारणले हुनसक्छ, तर मनोवैज्ञानिक आयाम पनि हुन सक्छ । यो किन हुन्छ भनेर अनुसन्धान गर्न रमाइलो हुनेछ । चाउरी परेका औंलाहरूले हामीले अन्य कुराहरू कम राम्रोसँग गर्न सक्छौं ।’ तर, पानीमा हाम्रा औंलाहरू र खुट्टाको औंलाहरूको चाउरीले हाम्रो स्वास्थ्यबारे आश्चर्यजनक तरिकामा महत्त्वपूर्ण जानकारी दिन सक्छ । उदाहरणका लागि, सोरायसिस र भिटिलिगो जस्ता छाला रोग भएकाहरूमा चाउरी बन्न बढी समय लाग्छ । सिस्टिक फाइब्रोसिस भएकाहरूको हत्केला र औंलाहरू अत्यधिक चाउरिन्छ, र यो रोगको जीन बोकेकाहरूमा पनि देखिएको छ । सिस्टिक फाइब्रोसिस एक वंशानुगत रोग हो, जसले मुख्य रूपमा फोक्सो, पाचन प्रणाली र शरीरका अन्य अंगहरूलाई असर गर्छ । यसले शरीरमा नुन र पानीको सन्तुलनलाई नियन्त्रण गर्ने प्रोटिनलाई ठिकसँग काम गर्न दिँदैन । टाइप २ मधुमेह भएकाहरूमा पनि कहिलेकाहीं पानीमा हात डुबाउँदा छालाको चाउरी उल्लेखनीय रूपमा कम हुन्छ । सायद हृदय प्रणालीको नियन्त्रणमा कुनै अवरोध भएको कारणले पनि मुटु फेल भएकाहरूमा पनि यस्तै कम चाउरिपन हुने देखिएको हुनसक्छ ।
असमान चाउरिपना पार्किन्सनको संकेत
एकै समय डुबाउदा एउटा हात अर्कोभन्दा कम चाउरिन्छ भने पार्किन्सन रोगको प्रारम्भिक संकेत हुन सक्छ, किनकि यो शरीरको एक पक्षमा स्वायत्त स्नायु प्रणालीले ठिकसँग काम नगरेको संकेत गर्छ । त्यसैले, हाम्रा औंलाहरू र खुट्टाको औंलाहरू पानीमा किन चाउरी पर्न सुरू भए भन्ने प्रश्न अझै खुला छ, तर हाम्रा चाउरी परेका औंलाहरूले चिकित्सकहरूलाई अन्य आश्चर्यजनक तरिकामा उपयोगी साबित भइरहेका छन्।