शवदाह काण्डमा किराँतीलाई जोगाइएपछि महेश बस्नेत आक्रोशित
काठमाण्डौं । पशुपतिको विद्युतीय शवदाह मेसिन खरिद प्रकरणमा भएको भ्रष्टाचारमा तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीलाई प्रतिवादी नबनाइएकोमा नेकपा एमालेका नेता महेश बस्नेतले आपत्ति प्रकट गरेका छन् । सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत नेता बस्नेतले भ्रष्टाचारको मुख्य पात्रलाई चोख्याउँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्पक्षतामाथि नै प्रश्न उठ्ने बताएका छन् । प्रकरणमा अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापालगायत १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । तर, निर्णय गराउने, माइन्युट एकलौटी बनाउने र १ करोड ८९ लाख ‘आधा(आधा’ लिएको आरोपित सुदन किराँतीले भने किन उन्मुक्ति पाए, बस्नेतको प्रश्न छ ।
उनले प्रकरणमा किराँतीलाई प्रतिवादी बनाइनुपर्ने आधार पनि प्रस्तुत गरेका छन् । जुन यस प्रकार छन् ।
किराँती कोषको अध्यक्ष थिए ।
नियमअनुसार निर्णय माइन्युट बहुमतद्वारा प्रमाणित हुनुपर्ने थियो, तर उनले बदनियतपूर्वक मात्रै आफू र सदस्य सचिव मिलन थापाको हस्ताक्षरबाट माइन्युट पारित गरे ।
सोही प्रक्रियाबाट चारवटा शवदाह मेसिन खरिदको निर्णय भयो ।
ठेकेदारको बयानअनुसार पहिलो किस्ताबाटै १ करोड ८९ लाख रुपैयाँ मिलन थापा र सुदन किराँतीले आधाआधा बाँडे ।
जसको नेतृत्वमा नयाँ मेसिनहरू खरिद गरिए, पछि पुराना चारवटा मेसिनहरू गायब छन् ।
सेकेन्ड ह्यान्ड बिक्री गरेर किराँतीले आर्थिक लाभ लिए भनिन्छ ।
यी तथ्य पेस गर्दै बस्नेतले सोधेका छन्, अख्तियारसँग यो सबै बयान, प्रमाण र प्रक्रियागत उल्लंघनको तथ्य हुँदाहुँदै सुदन किराँतीलाई किन प्रतिवादी बनाइएको छैन ? यस्ता प्रमाण हुँदाहुँदै किराँतीलाई ‘उन्मुक्ति’ दिनु भनेको अख्तियारकै निष्पक्षतामाथि गम्भीर प्रश्न हो, बस्नेतले भनेका छन्, भ्रष्टाचारको मुद्दा केवल फाइलमाथिको संलग्नविरुद्ध मात्र होइन, निर्णय गराउने र लाभ उठाउने मूल पात्रविरुद्ध हुनुपर्छ । मन्त्री किराँतीले भने अख्तियारले नै शवदाह मेसिन प्रकरणमा आफ्नो संलग्नता नरहेको पुष्टि गरिसकेको भन्दै प्रसन्नता व्यक्त गरेका छन् । सोमबार फेसबुकमा उनले लेखेका छन्,अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणित भइसक्यो । अझै पनि मेरो फोटो टाँसेर सामाजिक सञ्जालमा बदनाम गर्नेहरूप्रति दया लाग्छ ।