सांसदहरु गौतम र ढकालले गरे भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सांसदद्वय सोविता गौतम र हरि ढकालले भारतका पूर्वउपराष्ट्रपति एम. वेंकैया नायडूसँग अनौपचारिक भेटवार्ता गरेका छन् ।
प्रवासी नेपाली सम्पर्क मञ्चको कार्यक्रममा भारतको कर्नाटक राज्यको बैंगलोरमा रहेका सांसदद्वय गौतम र ढकालले नायडूसँग अनौपचारिक भेटवार्ता गरेका हुन् । भेटका अवसरमा भारतमा रहेका प्रवासी नेपालीहरूको अवस्था, समस्या, नेपाल–भारत सम्बन्धका विविध आयामहरू तथा दीर्घकालीन संरचित समन्वय आवश्यकताका विषयहरू केन्द्रमा रहेर छलफल गरेको सांसद गौतमले जानकारी दिएकी छन । उनले सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको मूल दृष्टिकोण, राजनीतिक उद्देश्य र अभियानका बारेमा समेत संक्षिप्त जानकारी गराएको उल्लेख गरेकी छन् ।
सांसद गौतमले यो भेटवार्ता पूर्णतः अनौपचारिक रहेको र पूर्वउपराष्ट्रपति नायडूको आत्मीयता, अनुभव र विचारप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।