गृहमन्त्री लेखक स्वच्छ छविको व्यक्ति भएको घिमिरेको दाबी
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखक स्वच्छ छविको व्यक्ति भएको दाबी गरेका छन् ।
आज मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक घिमिरेले गृहमन्त्री लेखकको प्रशंसा गरेका हुन् । उनले गृहमन्त्री लेखकमा बेदाग चरित्र रहेको समेत बताए । उनले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको उच्चस्तरीय छानबिन समितिलाई निष्पक्ष छानबिन र अनुसन्धानमा गृहमन्त्रीले भित्रैदेखि सदासयताका साथ काम गर्ने कुरामा पर्याप्त आधार र ठाउँहरू रहेका दाबी गरे ।
संसद बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई संसदीय अभ्यासमा सरकारमाथि विश्वास नगर्ने भन्दै प्रश्न गरे । उनले बनाइएको समितिलाई साथ दिन र समितिलाई अपनत्व गरेर शङ्काको सुविधा दिएर हेर्न रास्वपा र राप्रपालाई आग्रह गरे ।