छानबिन समिति बनेपनि रास्वपाद्वारा सदन बहिस्कार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले गठन गरेको भिजिट भिसा प्रकरण बारेको उच्चस्तरीय छानबिन समिति नमान्ने बताएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले शंकर दास बैरागी नेतृत्वको छानबिन समितिले समस्याको समाधान नगर्ने भन्दै संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरेका छन् । डा. वाग्लेले बैरागी स्वयं सक्षम निकायको रडारमा भएकोले उनले कस्तो छानबिन गर्छन् भन्दै प्रश्न गरेका छन् । उनले गृहमन्त्रीको प्रस्तावमा छानबिन समिति बनेको भन्दै आरोपीले नै आफ्नो अनुसन्धान अधिकृत छान्ने हो भन्दै प्रश्न गरे । उनले वैरागी पछिल्लो १० बर्षमा सत्ताको प्रिय पात्र रहेको समेत बताए ।
पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा बनाइएको ७ सदस्यीय समितिमा अर्थ मन्त्रालयका सहसचिव तिर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य छन् ।