निर्जीवन बीमकको व्यवसाय ७ प्रतिशतले बढ्यो, शिखर अग्रस्थानमा

काठमाडौं । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन सात दशमलव ४४ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब तीन करोड रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब ३२ करोड रुपैयाँको व्यवसाय गरेका थिए । समीक्षा अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न सफल भएको छ भने गत आवको सोही अवधिको तुलनानमा द ओरियण्टल इन्स्योरेन्सको व्यवसाय सर्वाधिक प्रतिशतले बृद्धि भएको छ । शिखर इन्स्योरेन्सको बीमा शुल्क आर्जन तीन दशमलव ९६ प्रतिशतले बृद्धि भएर पाँच अर्ब नौ करोड रुपैयाँ रहेको छ । बीमा शुल्क आर्जनमा दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको चार दशमलव ८९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामा चार अर्ब ५० करोड रुपैयाँको व्यवसाय गरेको विवरणले देखाएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय ६ दशमलव ५४ प्रतिशतले बढेर तीन अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८ दशमलव ६१ प्रतिशतले बढेर तीन अर्ब ५१ करोड र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको पाँच दशमलव ६१ प्रतिशतले बढेर तीन अर्ब ३९ करोड रहेको छ । द ओरियण्टल इन्स्योरेन्सको बीमा व्यवसाय गत आर्थिक वर्षको तुलनामा ३८ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । साथै, नेपाल इन्स्योरेन्सको ३१ प्रतिशत, एनएलजी इन्स्योरेन्सको २१ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको ६ प्रतिशतले व्यवसाय बढेको छ । समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सको वित्तीय अवस्था खस्किदै गएको छ । कम्पनी वित्तीय सूचांकका आधारमा धरापमा पदै गएको देखिन्छ । ११ महिनाको अवधिमा कम्पनीको व्यवसाय ४ प्रतिशतले घटेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको हाल पनि निकै कमजोर रहेको छ । कम्पनीको व्यवसाय गत आवको तुलनामा १४ प्रतिशतले घटेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *