एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई अध्यक्ष प्रचण्डले दिए बधाई
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा(एसईई) मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिएका छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेपछि प्रचण्डले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, एसईई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थी भाईबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना ! यसको लागि तपाईँहरूको मेहनत, लगनशीलता र दृढ सङ्कल्पमा साथ दिने शिक्षक,शिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार प्रकट गर्दछु । उनले अपेक्षित नतिजाबाट वञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रहसहित आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास समेत व्यक्त गरे । अध्यक्ष प्रचण्डले राष्ट्र निर्माण र समृद्धिका लागि विद्यार्थीहरूलाई प्रेरणा मिलोस् भन्दै उज्ज्वल भविष्यको शुभेच्छा समेत व्यक्त गरे । बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।