भक्तपुर जिल्ला बचत संघको “महिला नेतृत्व विकास तालिम” सम्पन्न
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले “महिला नेतृत्व विकास तालिम” सम्पन्न गरेको छ । संघको महिला सशक्तिकरण उपसमितिको आयोजना तथा नेफ्स्कूनको साझेदारीमा एक दिने तालिम कार्यक्रम सञ्चालन भएको हो । तालिमको समापन कार्यक्रममा मन्तव्य राख्नुहुँदै संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरूको लागि जारी गरेको मापदण्ड सहकारीमा भए गरेका बदमासी गर्नेलाई कारवाही गर्ने भन्दा पनि अन्य सहकारी संस्थालाई नियन्त्रण गर्नलाई ल्याएको बताए । संघमा रहेको संस्थाको बचतलाई तरलता गणना नहुने सम्बन्धी व्यवस्थाको संघले विरोध गर्दै आएको र सो व्यवस्था तुरन्त सच्याउनुपर्ने उनले उल्लेख गरे । सहकारीमा महिला सदस्यकोे बहुमत भएतापनि नेतृत्व तहमा न्यून संख्या रहेको तथ्यांकले देखाएको उनले बताए। सहकारीमा नेतृत्व गर्नलाई सहकारी मूल्य, मान्यता बुझ्नुको साथै सहकारी सम्बन्धी ऐन, नियमावली, मापदण्ड, संस्थाको विनियम, नीति, कार्यविधि सम्बन्धी जानकार भएको हुनुपर्ने र अध्ययनलाई जोड दिनुपर्ने उनले बताए । सहकारीमा नेतृत्ववर्गले आफूमा स्वयम्सेवी भावनाको विकास गर्नुका साथै सम्पूर्ण क्षेत्रमा क्षमतावान भएमा महिला नेतृत्व बृद्धि हुनेमा दुईमत नरहेको जनाए । तालिममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का तालिम अधिकृत रिता सुवेदीले नेतृत्वको परिचय, नेतृत्वको शैली र प्रकार, नेतृत्वको आवश्यकता र महत्व, सहकारीमा नेतृत्व गरेका व्यक्तिको जिम्मेवारी विषयहरुमा सहजिकरण गरेकी थिइन् ।
कार्यक्रममा सभापति एवम् संघका संचालक सदस्य कृष्णश्वरी मचामसीले महिला नेतृत्व विकास तालिम, तालिम लिनका लागि मात्र नभईकन सहकारीको अध्यक्ष एक दिन बन्नेछु भन्ने विचार लिएर जान सहभागीहरुलाई अनुरोध गरिन् । साथै सहकारीमा नेतृत्व गर्ने सोचले नै उत्प्रेरित भएर नै तालिममा उत्साहजनक सहभागिता रहेको र सहकारी सम्बन्धी नीति, नियम, संस्थाकै विनियम, नीतिहरु अध्ययन गर्नुपर्ने अनिमात्र सहकारीको नेतृत्व गर्न सक्षम हुने विचार उनले व्यक्त गरिन् । कार्यक्रममा महिला सशक्तिकरण उपसमितिका सदस्य निर्जना ढुंगेल दाहालले पनि तालिममा सिकेका कुराहरु संस्थामा गएर कार्यान्वयन गर्नुहुन अनुरोध गर्दै अवसरकै कमीले गर्दा पनि महिला नेतृत्वमा कमी भएको भनाई राखिन् । तालिममा सहभागीहरुमध्येबाट शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाका मनशोभा सुवाल र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिका सविता घिमिरेले फिडव्याक दिएका थिए । संघमा आवद्ध सदस्यसंस्थाका ४८ जनाको उपस्थिति रहेको थियो ।