महालक्ष्मी विकास बैंकको पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले फोन पेसँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी भित्र महालक्ष्मी फोन पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्ट मार्फत भुक्तानी गर्न तथा अनलाइन मार्फत गरिने किनमेलको भुक्तानी गर्न सक्नेछन् । भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याज रहित अवधि तथा लचिलो किस्ताबन्दी सुविधा यस भर्चुअल क्रेडिट कार्डमा समेत हुनेछ ।
यो सेवा अन्तर्गत हाल प्रचलनमा रहेको भौतिक त्रेडिट कार्डको आवश्यकता नपर्ने भएकाले कार्ड बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य हुने बैंकले जनाएको छ । सेवा थालनीसँगै बैंकले भर्चुअल त्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५ सय रुपैयाँसम्मको विशेष नगद फिर्ता (क्यासब्याक) अफर समेत ल्याएकाले ग्राहकलाई अझ फाइदाजनक हुनेछ । डिजिटल नवप्रर्वद्धन क्षेत्रमा नेपालमा रहेका विकास बैंकमा अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंक यो सेवाको सुरुवात गर्ने बैंकमा पहिलो विकास बैंक बनेको छ । यो सुविधा थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधि केन्द्रित हुने विश्वास बैंकले लिएको छ ।