नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्री डा.राणाको आग्रह
काठमाडौं । राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन, एफएओको रोममा जारी ४४औँ महासभाअन्तर्गत मंगलबार आयोजित कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेकी छन् । उनले कृषि क्षेत्रमा लगानी गरेर नेपालका मौलिक एवं विशिष्ठ उत्पादनहरुमार्फत् विश्व बजारबाट लाभ लिन आग्रह गरिन् । मन्त्री डा. राणाले भनिन्, कृषिमा निजी क्षेत्रको संलग्नता बढाउने सरकारको नीतिबमोजिम ठूला निजी कम्पनीहरूले कृषिमा लगानी गर्न थालेका पनि छन् । तर पनि ठूलो लगानी तथा कृषिमा आधुनिकीकरणको अभावमा पर्याप्त सम्भावनाका बाबजुत पनि नेपालले बृहत मात्रामा कृषि उपजहरु निर्यात गर्न सकिरहेको छैन । हामीलाई यस क्षेत्रमा ठूलो वैदेशिक लगानीको आवश्यकता छ । मन्त्री डा. राणाले अन्तर्राष्ट्रिय सहयोग एवं सहकार्यबाट कृषि क्षेत्रलाई नवप्रवर्तन, कृषिमा एआईको प्रयोग, खेती गर्न ड्रोन आदि प्रविधिको प्रयोग गरी कृषिमा आधुनिकीकरण र वैज्ञानिकीकरणका साथ आकर्षक बनाउन नेपाल सरकार लागिपरेको बताइन् । उनले नेपालमा कृषि पेसा गर्ने व्यक्ति अर्थात् किसानलाई अहिले पनि हेय दृष्टिले हेर्ने गरिएकाले यस क्षेत्रको आधुनिकीकरण गरी समयानुकुल विकास गरेर निर्यातमुखी बनाउन नसकिएको बताइन् । उनले कृषिलाई मर्यादित र आकर्षक पेशा बनाउनुपर्ने धारणा पनि राखिन् ।