पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी
काठमाडौं । पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिव पदको जिम्मेवारी कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले पाएका छन् । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रिस्तरीय निर्णय गरी कार्यकारी निर्देशक जोशीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही असार ७ गते विद्युतीय शवदाहगृह यन्त्र खरिद प्रकरणमा सदस्य सचिव डा मिलनकुमार थापालगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतमा मुद्दा दायर भएपछि स्वतः सदस्य सचिव पद रिक्त भएको थियो । नवनियुक्त निमित्त सदस्य सचिव जोशीको पदावधि आगामी भदौ १८ गतेसम्म रहेको कोषले जनाएको छ । करिब दुई महिनामात्र उनको निमित्त सदस्य सचिवको कार्यकाल हुनेछ ।