सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै हिम स्टार
हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले आगामी असार २४ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त अनुसार कम्पनीले कुल जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ लाख १९ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो । त्यसअनुसार आयोजनाबाट प्रभावित बासिन्दा र वैदेशिक श्रमिकका लागि छुट्याइएको २ लाख ७९ हजार ७५० कित्ता शेयरमा बाँडफाँड गरिसकेको हो । अब कम्पनीले कर्मचारीहरूका लागि १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरूका लागि ४६ हजार ६२५ कित्ता सुरक्षित गर्दै बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । निष्काशन अवधि छिटोमा असार २७ गते बन्द हुनेछ भने सो अवधिमा आवश्यक माग अनुसार आवेदन नपरे साउन ६ गतेसम्म म्याद थप हुनेछ । उक्त आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापन एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्दैछ । लगानीकर्ताले सी–आस्बा प्रणाली अन्तर्गत स्वीकृत बैंक तथा वित्तीय संस्थाहरूको शाखाबाट वा मेरो शेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।