मल बिउँमै परनिर्भरता
केही वर्ष अघिसम्म नेपाललाई कृषिप्रधान देश भनिन्थ्यो । अहिले कृषि पेसा छाडेर वैदेशिक रोजगारीमा जानेले नै देशको अर्थतन्त्र चलाइरहेको जिकिर गरिन्छ । विदेशमा ज्यामी मजदुरी गरेर पठाएका रेमिटेन्सबाट देश चलिरहेको कथन बारम्बार सुनिन्छ । वैदेशिक रोजगारीकै कारण नेपालको अर्थतन्त्रको स्वरूप परिवर्तन भएको भन्न सकिने अवस्था छ अहिले । व्यापार, उद्योग, वैदेशिक रोजगारीसँगै सेवा क्षेत्रको विस्तारले गर्दा कृषि पेसा उपेक्षित भएको कुरा पनि सत्य हो ।
तर जे भए पनि कृषिप्रति जनचासो र रुचि भने समाप्त भइसकेको छैन । रोजगारीका लागि लामो समय विदेशमा बसेर आएका र विदेशमा पनि कृषि र पशुपालनकै क्षेत्रमा काम गरेर आएकाहरूले नेपाल फर्किएर आफूलाई कृषि क्षेत्रमै लगाएका उदाहरण पनि प्रशस्त छन् । कृषिको व्यवसायीकरणको प्रक्रिया तीव्र हुनुमा परम्परागत कृषि प्रणाली असफल भएर आधुनिकता र व्यावसायिकताले प्रवेश पाउनुमा पढेलेखेका अनुभवी र विदेशमा खेतीपातीको अनुभव गरेर, हेरेर आउनेको ठुलो देन छ । अहिले निजी क्षेत्रको ठुलो लगानी बिस्तारै कृषि र पशुपालनमा आकर्षित हुँदै छ । तर एउटा ठुलो समस्याले अझै निकास पाएको छैन । त्यो हो मल र बिउँ विजन । नेपालमा परम्परागत खेती प्रणाली चल्दासम्म बिउ विजनको समस्या थिएन । न त खेतीको बेला मलकै अभाव हुन्थ्यो । तर आधुनिकताको नाममा हामीले हाइब्रिड अर्थात् उन्नत जातको बिउँ विदेशबाट भित्र्याउन थालेपछि डरलाग्दो समस्या आइलागेको छ । हरेक वर्ष बिउँ किनेर खेती गर्ने किसानलाई खेतीको याम सुरु भएपछि बिउ खोज्ने झन्झट आइलाग्छ । अझ आयातकर्ताले समयमा बिउँ नल्याउँदा सस्तो पाइने र चाँडै हात पार्न सकिने भनेर तस्करले मल बिउको आपूर्ति गरिदिने गरेका घटना प्रशस्त देखिन्छ । यस्ता घटनामा प्रायः किसानहरू ठगिएकै हुन्छन् । प्रत्येक वर्ष किसान ठगिएका घटना सार्वजनिक हुँदा पनि सरकार भने मौन नै रहन्छ । खेतीका लागि उन्नत जातका बिउँ र पशुपालनका लागि उन्नत नस्लका पशु भित्र्याउने नाममा किसान मात्र ठगिएका छैनन् नेपालको विदेशी मुद्रा पनि ठुलो पैमानमा बाहिरिएको छ ।
यस वर्ष धानको बिउँ आयातमा मात्र १ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको कुरा भन्सार विभागले नै सार्वजनिक गरेको छ । पौने अर्बदेखि साँढे दुई रुपैयाँ अर्बसम्म धानको बिउँ आयतमा बर्सैपिच्छे बाहिरिएको छ । धानको मात्र होइन मकै, गहुँ लगायतका बालीको बिउँ आयतमा प्रत्येक वर्ष करोडौँ रुपैयाँ बाहिरिइरहेको छ । तरकारी, फलफूल र फुलका बिउँ र बिरुवाको आयतमा त झन् कल्पना नै गर्न नसकिने गरी नेपाली पैसा बिदेसिएको छ । अहिले उन्नत जातको बिउँ खरिद गर्ने नाममा नेपाली किसानहरू नराम्ररी ठगिने गरेका छन् । बढी उत्पादन दिने भनेर भित्र्याइएका उन्नत जातका धान, गहुँ, मकै आदि अन्नबालीका बिउँ नक्कली परेर किसान भुतुक्कै हुनुपर्ने अवस्था बारम्बार दोहोरिएको छ । धान, मकै र गहुँका लहलहाउँदा र आकर्षक बोटमा दाना नलाग्ने, फोर्से रहने गरेका घटना बारम्बार सार्वजनिक भइरहन्छन् तर त्यसमा सरोकारवाला निकायले कुनै ठोस समाधान खोज्दैन । बढी उत्पादन दिने बिउँ, रासायनिक मल, कीटनाशक विषादीबाट अबको संसार पुर्णरुपले मुक्त हुन सम्भव छैन । अधिकतम लाभका लागि किसानहरूले आधुनिक कृषि औजार, रासायनिक मल, सिचाइको उचित प्रबन्ध र उन्नत जातको बिउँ रोज्नु मनासिब नै हो । तर त्यसो भनेर हाम्रा रैथाने बिउँ, प्राङगारिक मल, परम्परागत खेती प्रणालीलाई चटक्कै छाडिहाल्नु पनि हुँदैन । त्यसो गर्दा अनेक समस्या आइलाग्न सक्छ । आधुनिकीकरणको दिशामा सही तरिकाले फड्को मार्दा नै देशले पनि अनावश्यक आर्थिक बोझ बोक्नु पर्दैन र किसानले पनि पर्याप्त लाभ लिन सक्छन् । उन्नत तर भरपर्दो बिउँ त्यो पनि समयमै उपलब्ध गराउन नेपालमै बिउँ उत्पादन गर्नुको अर्को विकल्प छैन ।
सधैँ बिउँ र मलमा परनिर्भर रहेर खेती नहुने भएकाले नै हाम्रो युवा पुस्ता यो क्षेत्रबाट बाहिरिएको हो । पशुका उन्नत नस्ल विकास गर्ने, नेपाललाई पुग्ने गरी उत्पादन गर्ने क्षमताका मल कारखाना स्थापना गर्ने र उन्नत जातका अन्न बालीका बिउँ स्वदेशमै उत्पादन गर्ने तिर नलाग्ने हो भने केही वर्षभित्रै हाम्रो कृषि क्षेत्र धराशायी बन्ने निश्चित छ । कृषि उत्पादन निर्यात गरेर देशको अर्थतन्त्रलाई टेवा दिने कुरा त सपनामै सीमित रहने निश्चित छ ।
हरेक हप्ताको बिहीबार सत्याग्रह सम्पादकीय प्रकाशन हुँदै आएकोमा विभिन्न कारण आज (शुक्रवार) प्रकाशन गरिएको छ । पत्रिकामा भने हिजो अर्थात् बिहीबार नै प्रकाशित भइसकेको छ।