युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौँ । नेसनल टेलिभिजन (हाल बन्द)का अध्यक्ष युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७ सय ९ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबीसहित सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दायर गरेको हो । नक्कली भारतीय नोटको कारोबार र विदेशी मुद्रा तस्करी, लागूऔषध कारोबारबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेर टेलिभिजन सञ्चालनदेखि जग्गारजमिन खरिदबिक्री लगायतमा लगानी गरेको अभियोगमा उनलाई प्रतिवादी बनाइएको छ । यसैगरी नेसनल टेलिभिजनका तत्कालीन सञ्चालक भुवनेश्वरप्रसाद कुशवाहलाई ५ करोड २ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर ९बिगोको हकमा मात्रै० मुद्दा दायर गरिएको छ । गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि अन्सारीकी पत्नी सलमा खातुन र अर्मी महिला प्रमिला अधिकारीलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ । अन्सारी र उनकी पत्नीका नाममा राखिएका स्रोत नखुलेको घरजग्गा पनि जफत गर्नुपर्ने अभियोगपत्रमा उल्लेख छ । यसमध्ये अन्सारीको परिवारका नाममा पर्सामा भेटिएको २ बिघा, १३ कठ्ठा ८ धुर जग्गा पनि जफत गर्न मागदाबी लिइएको छ । यस्तै, अन्सारीका नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई, प्रभू, सानिमा र माछापुच्छ्रे बैंकमा रहेको १५ लाख ५० हजार २ सय ९ रुपैयाँ नगद पनि जफत गर्नुपर्ने अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । अन्सारी भारतीय जाली नोटको ओसारपसारमा संलग्न रहेको अभियोगमा ६ वर्ष कैद सजाय भुक्तान गरी १७ जेठ २०८२ मा ललितपुरको नख्खु कारागारबाट छुटेका थिए । छुटेलगत्तै सीआईबीले पक्राउ गरी उनीविरुद्ध सम्पत्ति शुद्धीकरण आरोपमा अनुसन्धान गरेको थियो । अन्सारी पहिलो पटक १३ पुस २०६६ मा २५ लाख ४४ हजार ५ सय भारतीय जाली नोटसहित पक्राउ परेका थिए । उनी अर्को महिना १७ माघमा कारागार चलान भएका थिए । कारागार चलान हुँदा त्यतिबेला उनी नेसनल टेलिभिजनकै अध्यक्ष थिए । ६ असोज २०६७ मा पुनः ४० लाख ९१ हजार जाली नोट बरामद हुँदा पनि अन्सारी जोडिएका थिए । त्यसपछि करिब ५ वर्ष कैद सजाय भुक्तान गरेर उनी १८ असोज २०७० मा छुटेका थिए । तेस्रोपटक १० माघ २०७० मा पुनः ३५ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका अन्सारी फेरि सजाय भुक्तान गरी छुटे । १० जेठ २०७६ मा पुनः ७ करोड ६७ लाख ९४ हजार भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परे । कारागारबाट छुट्नु अघिका दुईपटक पक्राउ पछि क्रमशः ११ चैत २०७० र ७ साउन २०७६ मा उनीविरुद्ध खोटा चलन र संगठित अपराध तथा विदेशी मुद्राको अवैध कारोबार र संगठित अपराध अभियोगमा मुद्दा परेकामा त्यसपछि निरन्तर कारागारमा रहेका थिए । खोटा चलन मुद्दाबाहेक संगठित अपराध र लागूऔषध तस्करीमा भने उनले अदालतबाट सफाइ पाएका थिए । पछिल्लो पटक कारागारबाट छुट्नुअघि भने सीआईबीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको थियो । हिरासतबाहिर राख्दा अन्सारीमाथि ‘सुरक्षा चुनौती’ देखिएकाले अनुसन्धानका लागि हिरासतमै लिनुपर्ने अवस्था आएको भन्दै सीआईबीले उनलाई कारागारबाटै नियन्त्रणमा लिएको थियो । अन्सारी भारतीय आपराधिक गिरोहको निसानामा पर्दै आएका थिए । केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका बेला पनि अन्सारीमाथि भारतीय सुटर मनमित सिंह भनिने मनमित भाटियाले २६ फागुन २०६७ मा गोली हानी हत्या प्रयास गरेका थिए  । त्यसपछि भने अन्सारीलाई कारागारभित्र पनि विशेष सुरक्षा निगरानीका साथ राखिएको थियो ।

शुक्रबार अदालतमा दायर अभियोगपत्रमा अन्सारी अध्यक्ष रहेको टेलिभिजन, उनी र परिवारका बैंक खातामा जम्मा भएको रकमको स्रोतमा पनि प्रश्न उठाइएको छ । ७ जनवरी २००९ देखि २७ डिसेम्बर २००९ को १ वर्षको अवधिमा विभिन्न २६ पटक नेसनल टेलिभिजनको बैंक खातामा जम्मा भएको ४ करोड २८ लाख ९ हजार ६ सय ४० रुपैयाँ रकमको पनि स्रोत नखुलेको र यो रकम जाली नोट र विदेशी मुद्राको अवैध कारोबारलगायतबाट आर्जित रकम शुद्धीकरण गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यो रकम अपराधबाट आर्जित रकम विभिन्न माध्यमबाट जम्मा भएको र यो रकमको स्रोत प्रतिवादी अन्सारीले खुलाउन नसकेको अभियोगपत्रमा उल्लेख छ । यस्तै, अन्सारीकी पत्नी खातुनको ९ फेब्रुअरी २०१८ देखि २६ मे २०२५ को अवधिमा सानिमा बैंकमा जम्मका भएको २५ वटा कारोबारबाट १ करोड ८६ लाख ११ हजार रुपैयाँको स्रोत पनि खुल्न नसकेको र यो रकम अपराधबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेबापतको भएको अभियोगपत्रमा उल्लेख छ । सन् २००८ को १ वर्षमा इन्भेष्टमेन्ट बैंकमा जम्मा भएको ३ करोड रुपैयाँ पनि गैरकानुनी गतिविधिबाट आर्जित सम्पत्ति नै भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । तर, अन्सारीले आफ्नो आम्दानी माछापालन, खेतीकिसानी र पैत्रिक सम्पत्ति न भएको भन्दै आफूमाथि सम्पत्ति शुद्धीकरणमा प्रतिवादी बनाइनु गलत भएको जिकिर गरेका छन् । जाली नोट कारोबार नगरेको र यसबाट कुनै आम्दानी पनि नगरेको उनले बयानमा उल्लेख गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *