रविको पक्षमा हस्ताक्षर गरेका ट्राफिक सईलाई हेडक्वाटर झिकाइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईलाई हेडक्वाटर झिकाइएको छ ।
नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि हस्ताक्षरबारे बुझन् खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि गरेका छन् । खड्काले रास्वपाद्वारा सञ्चालित ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ कार्यक्रमअन्तर्गत नेपालगञ्जमा हस्ताक्षर गरेका थिए ।
बर्दी लगाएर ड्युटी खटिएको अवस्थामा उनले हस्ताक्षर गरेको तस्वीर भाइरल भएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार उनले प्रहरी आचारविरुद्ध गम्भीर काम गरेका कारण आवश्यक सोधपुछका निम्ति काठमाडौं बोलाइएको बुझिएको छ ।