अदालतबाट छुटे आलम, घाइते गौरीशंकर न्यायको गुहार लिएर काठमाडौंमा

काठमाडौं । अदालतले नेता अफ्ताब आलमलाई राजपुर बमकाण्डबाट सफाइ दिएको केही दिनमै, १६ वर्षदेखि पीडा बोकेका भारतका गौरीशंकर राम चमार काठमाडौं आएर मिडियासामु गहभरी आँसु लिएर बोले- बम लागेको हो, म जिउँदो प्रमाण हुँ। तर, न्याय अझै टाढा छ।

२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो साँझ, रौतहटको राजपुर फरहदवास्थित आलमको इँटाभट्टामा बम विस्फोट हुँदा घाइते भएका गौरीशंकर अहिले पनि आफ्नो सुन्ने शक्ति गुमाइसकेका छन्। अनुहार, छाती र घाँटीमा गहिरो चोट बोकेका उनी, उपचारका लागि भारत पुगेका थिए। उपचारमा साढे तीन लाख भारतीय रुपैयाँ खर्च भयो, तर उनलाई कसैले पनि साथ दिएन। अफ्ताबले कहिल्यै सोधेनन्— म बाँचें कि मरेँ, रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमा बोल्दै उनले पीडा सुनाए, म मरेको भन्दै मेरो आमालाई धम्की दिनसम्म पछि परेनन्।

वीरगञ्ज उच्च अदालतले आलमलाई बम विस्फोट भएको पुष्टि नभएको भन्दै सफाइ दिएको हो। तर, गौरीशंकरले भने प्रस्टसँग भने- म त्यो दिन त्यही थिएँ, बम विस्फोट भएको थियो, म घाइते भएँ। अदालतले प्रमाणको अभाव देखाएको बेला एक प्रत्यक्ष घाइते व्यक्ति, जसको शरीरमा आजसम्म घाउका डाम छन्, न्याय खोज्दै अदालत बाहिर पीडा पोखिरहेका छन्।

गौरीशंकरको गुनासो एउटै छ- मेरो शरीर भाँचियो, कान सुन्न सक्दिनँ, काम गर्न सक्दिनँ। न्याय पाउनुको सट्टा धम्की पाइरहेछु। उनको अवस्थाले नेपाली न्याय प्रणाली, पीडितमाथिको राज्यको संवेदनशीलता र राजनीतिक संरक्षणको भयावह यथार्थ उजागर गरिदिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *