आजबाट चतुर्मास व्रत आरम्भ

काठमाडौँ । आषाढ मासको शुक्ल पक्षको एकादशीलाई देवशयनी वा हरिशयनी एकादशी भन्ने गरिन्छ । प्रत्येक वर्ष आजकै दिनदेखि भगवान् विष्णु चार महिनासम्म पाताल लोकमा गई बलिको ढोकामा निवास गर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीका दिन फर्कनु हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । यसै दिनदेखि चौमासा व्रतको सुरुवात हुन्छ । चातुर्मास्यव्रत वैष्णव, शैव सबै सम्प्रदायका मानिसले गर्नुपर्दछ । व्रतारम्भ गरेपछि तलका मन्त्रले भगवान् चक्रपाणिको महापूजा गर्नुपर्दछ ।
सुप्ते त्वयि जगन्नाथे जगत् सुप्तं भवेदिदम् ।
विबुद्धे च विबुध्येत प्रसन्नो मे भवाच्युत ।।
‘हे जगदीश्वर, हरिशयनी एकादशीमा हजुरले शेषशय्यामा शयन आरम्भ गर्नुभएपछि यो सम्पूर्ण संसार निद्रा मग्न हुन्छ । हजुर हरिबोधिनीमा जाग्नुहुँदा यो संसार पनि जागा हुन्छ । हे भगवान् । हजुर प्रसन्न हुनुहोस् । मैले यी चार महिना नियमपूर्वक व्रत गर्नेछु । हजुरले मेरो व्रतलाई निर्विघ्न तुल्याउनुहोस्’ भनी प्रार्थना गर्नुपर्दछ । यसरी व्रत लिने मानिसले श्रावणमा साग, भाद्रमा दही, आश्विनमा दूध र कार्तिकमा दुई दल हुने पदार्थको सेवन गर्नुहुँदैन । भगवान् शयनमुद्रामा रहनुहुने चतुर्मासमा भक्तिमान् व्यक्तिले ज्यामिर, राजमा, रातो मूला, कुभिन्डो र उखुको सेवन गर्न हुँदैन, पलङ, बेन्च आदिमा शयन गर्न हुँदैन र ऋतुकालबाहेकका दिनहरूमा सम्भोग गर्न हुँदैन । मांस, मधु, अरूले पकाएको भोजन, परवर, मूला, भन्टा, अभक्षपदार्थ, मसूरो, सेतो सस्यु, राजमा, माष, सामाधान (जङ्गली धान) जस्ता पदार्थको सेवन गर्न हुँदैन । व्रतीले चतुर्मासाभरि ब्रह्मचर्यधारण गर्नुपर्दछ । शौचको पालन गर्नुपर्दछ । सत्यभाषण र सत्यव्यवहार गर्नुपर्दछ । मासु र आमिषपदार्थको सेवन गर्न हुँदैन । यसरी निषिद्ध पदार्थहरूको सेवन नगरीकन हविष्यान्नसेवन गर्दै जसले चतुर्मासाको व्रत गर्दछ त्यसले हरिकृपा प्राप्त गर्दछ भनी शास्त्रमा वर्णन गरिएको छ । चतुर्मासमा सख्खरको त्याग गर्दा मानिस त्यागी बन्दछ र मिठो स्वरको धनी हुन्छ । तोरीको तेल त्याग गर्दा सत्रुनाश हुन्छ । योगभ्यास गर्नाले ब्रहपद प्राप्त हुन्छ । पात तथा सुपारी त्याग गर्नाले भोग प्राप्त हुन्छ र माधुर्य पैदा हुन्छ । घिउको त्याग गर्नाले शरीरमा सौन्दर्य वृद्धि हुन्छ र शरीरमा चिल्लोपन प्रकट हुन्छ । सागपात र पाकेको फल सेवन गर्नाले भोगी बन्दछ भने निषिद्ध पदार्थको सेवन नगरी सात्त्विक पदार्थको सेवन गर्ने मानिस निर्मल बन्दछ । भुईँमा शयन गर्ने मानिस उत्तम मुनी बन्दछ । एकान्त र उपबास गर्ने मानिसले ब्रहलोक प्राप्त गर्दछ । मौनव्रत धारण गर्ने मानिसको आज्ञा कसैले भङ्ग गर्दैनन् । तीन दिनमा एक पदक भोजन गर्ने मानिस कल्पकालसम्म स्वर्गमा वास गर्दछ । टपरी वा पातमा भोजन गर्ने मानिसले कुरुक्षेत्रमा नुहाएको फल प्राप्त गर्दछ । यी सबै किसिमका व्रत र त्याग गर्ने मानिसका शरीर, इन्द्रिय र मनबाट भएका कल्मस ९कुकर्म०हरु नष्ट भई व्रत गर्ने मानिसको आत्मा चहकिलो हुने कुरा शास्त्रमा बताईएकोछ । चतुर्मास पुन्यकाल भएकोले यसबेला गरिने व्रतको ज्यादै महत्त्व छ । यी चार महिनामा भगवान् विष्णु क्षीर सागरमा शयन गर्नु हुने भएकाले विवाह, व्रतबन्ध, गृहप्रवेश लगाएत अन्य शुभ कार्य गरिँदैन । धार्मिक दृष्टिले यी चार महिना भगवान् विष्णुको निद्राकाल मानिन्छ । यस अवधिमा तपस्वीहरू भ्रमण गर्दैनन्, ती एकै स्थानमा बसेर तपस्या (चातुर्मास व्रत) गर्दछन् । यस कालमा केवल ब्रजक्षेत्रको यात्रा गर्ने चलन छ, किनभने यी चार महिनामा भू–मण्डल (पृथ्वी)का समस्त तीर्थहरू ब्रजक्षेत्रमा आएर निवास गर्दछन् । ब्रह्म वैवर्त पुराणमा यस एकादशीको विशेष माहात्म्य उल्लेख गरिएको छ । यस व्रतलाई पालना गर्नाले प्राणीका समस्त मनोकामनाहरू पूर्ण हुन्छन्, सबै पाप नष्ट हुन्छन् तथा भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ । सबै एकादशीका दिन भगवान् विष्णुको पूजा तथा आराधना गरिन्छ । आजको रात्रिदेखि भगवानको शयन प्रारम्भ हुने भएकाले उनको विशेष विधि–विधानले पूजा गर्ने चलन छ । यस दिन उपवास गरेर भगवान् विष्णुको प्रतिमालाई आसनमा आसीन बनाई षोडशोपचार सहित पूजन गरी, तिनको हातलाई शंख, चक्र, गदा, पद्मले सुशोभित पारेर तिनलाई पीताम्बर, पहेला वस्त्र र पहेलै दोसल्लाले सजाउने काम हुन्छ । पंचामृतद्वारा स्नान गराएर, तत्पश्चात भगवानको धूप, दीप, पुष्प आदिद्वारा पूजा गरी आरती गरिन्छ । भगवानलाई पान (ताम्बूल), सुपारी (पुंगीफल) अर्पित गरेपछि निम्न मन्त्र द्वारा स्तुति गर्ने परम्परा रही आएको छ । यसरी प्रार्थना गरेर भगवान् विष्णुको पूजा गर्नु पर्छ । तत्पश्चात ब्राह्मणलाई भोजन गराएर स्वयं आफूले फलाहार गर्नु पर्छ । रात्रिकालमा भगवानको मन्दिरमा नै शयन गर्नु पर्छ तथा भगवानको भजन र स्तुति गर्नु पर्छ । आफू स्वयं सुत्नु पहिले नै भगवानलाई पनि शयन गराउनु पर्छ । यस दिन परिवारमा महिलाहरू पारिवारिक परम्परानुसार देवतालाई शयन गराउने गर्दछन् । जो श्रद्धालुले यस एकादशीलाई पूर्ण विधि–विधानपूर्वक भगवानको पूजन गर्दै व्रत गर्दछन्, ती व्यक्ति मोक्ष प्राप्त गर्न सक्षम हुन्छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *