कानुन जनताले बुझ्ने सरल भाषामा हुनुपर्छ- सांसद प्रकाश ज्वाला
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा सांसद प्रकाश ज्वालाले कानुन बनाउँदा जनतामा केन्द्रित हुनुपर्ने बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै ज्वालाले सबै कुराको जग भनेको कानुन रहेको भन्दै आधार बलियो बनाए मात्रै देश अघि बढ्न सक्ने उल्लेख गरे ।
उनले जनताले बुझ्ने सरल भाषामा कानुन लेख्नुपर्ने बताए । सबैभन्दा सुरक्षित यातायातको सेवा हवाई सेवालाई मान्ने गरिए पनि नेपालमा भने हवाई सेवा असुरक्षित रहेको उनले बताए । सांसद ज्वालाले नियमनकारी निकाय र सेवामुखी निकाय एउटै कानुनको छातामुनि राख्नु नहुनेमा जोड दिए ।