प्रधानमन्त्री ओलीद्वारा हरिशयनी एकादशीको शुभकामना व्यक्त
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत धरती र जीवन दुवैमा शान्ति छाओस् भन्ने कामना व्यक्त गर्दै हरिशयनी एकादशीको शुभकामना दिएका हुन् । “आज हरिशयनी एकादशी, तुलसी रोपण गर्ने दिन । आजको दिन शरीरलाई विषादीमुक्त गर्ने, मनसुद्दी गर्ने र वातावरणीय सन्तुलन कायम राख्ने प्रतीकात्मक दिन पनि हो । कम भोजन, ध्यान र उपवासले मानिसलाई शान्त मनोभावमा राख्ने पनि परम्परागत विश्वास रही आएको छ”, प्रधानमन्त्रीले लेखेका छन् ।
आज आषाढ शुक्ल एकादशीका दिन भएकाले घरघरमा तुलसीको बिरुवा सार्ने गरिन्छ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ ।