हरिशयनी एकादशीको अवसरमा कालीगण्डकी नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो
पर्वत । हरिशयनी एकादशीको अवसरमा कालीगण्डकी नदीमा स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ।
आषाढ शुक्ल एकादशीका दिनदेखि सुरु हुने चतुर्मास व्रतका अवसरमा पर्वतको मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक र वारीबेनीजस्ता धार्मिकस्थलमा बिहानैदेखि श्रद्धालुको भीड लागेको हो। मोदी र कालीगण्डकी नदीको संगमस्थल मोदीवेणीधाममा भजनकीर्तनसहित विशेष कार्यक्रम आयोजना गरिएको छ। मुक्तिनाथबाट बग्ने र शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकीमा स्नान तथा नृसिंह मन्दिरमा पूजा गरे मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। सेतीवेणीमा पनि गुल्मी, स्याङ्जा, बागलुङ, पाल्पा, पर्वत र अर्घाखाँचीबाट आएका श्रद्धालुले स्नान गरेका छन्।
आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घरघरमा तुलसीको मठमा तुलसी रोप्ने परम्परा अनुसार चतुर्मास व्रत सुरु गरिँदैछ।