हितेन्द्रदेव शाक्यले आफ्नो सय दिने उपलब्धि गरे सार्वजनिक

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

मंगलबार सार्वजनिक गरेको कार्यप्रगतिमा भारत र बंगलादेशमा विद्युत् निर्यात बढाइएको तथा प्रसारण र वितरण प्रणालीमा उल्लेख्य सुधार गरिएको उल्लेख छ । यस बाहेक २०८१ असोजमा आएको बाढीले क्षति पुगेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मत सम्पन्न गरी २०८२ असार १२ गतेदेखि पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको र सय दिनभित्र विभिन्न जलविद्युत् तथा सौर्य आयोजनाबाट कुल ७८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिएको उल्लेख छ ।

त्यस्तै बंगलादेशसँगको सम्झौताअनुसार जुलाई १५ देखि नियमित रूपमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरिएको छ भने भारततर्फ पनि औसतमा दैनिक ६२५ मेगावाट विद्युत् निर्यात भइरहेको उल्लेख छ । साथै यस अवधिमा १०४ सर्किट किलोमिटर नयाँ प्रसारण लाइन निर्माण सम्पन्न भएको र विभिन्न क्षमताका नयाँ सबस्टेसनहरू निर्माण तथा स्तरोन्नति गरी प्रणालीमा ५८६.५ एमभीए क्षमता थपिएको तथा भोल्टेज सुधारका लागि ११० एमभीएआर बराबरको क्यापासिटर बैंक जडान गरिएको छ ।

कार्यकारी निर्देशक शाक्यले भने, ‘डेडिकेटर लाइनसम्बन्धी विवाद समाधानतर्फ उन्मुख छ भने एकसय दिनको अवधिमा चार्जिङ स्टेशनका पूर्वाधार बनाउन १ करोड बजेट छुट्याइएको छ ।  ९ सय गरिब परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ। स्मार्ट मिटरको उपलब्धतालाई बढाइएको छ। वितरण प्रणालीलाई चुस्तदुरुस्त बनाइएको  छ भने सबस्टेशनहरु तयार भएका छन्।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *