नवराज सुवेदी निर्वाचन आयोगमा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता नवराज सुवेदी निर्वाचन आयोगमा उजुरी गर्न पुगेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक समेत रहेका सुवेदी आइतबार निर्वाचन आयोग पुगेका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि आक्रोशित बनेका उनी निर्वाचन आयोग पुगेका हुन् । उनले आफूलाई विधान विपरीत हटाइएको भनेर आयोगलाई जानकारी गराउने छन् । उनीसँगै राप्रपाका महामन्त्री धवलशमशेर राणालगायतका नेता कार्यकर्ताको पनि सहभागिता छ ।
शनिवार बसेको राप्रपा इतर समूहको बैठकले लिङ्देनको निर्णयको विरोध गर्दै यस विरुद्ध निर्वाचन आयोगमा जाने निर्णय गरेको थियो । सुवेदीले राजसंस्था पुनस्स्थापनाका लागि गठिन संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिए लगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । तर, उनले राप्रपामा लिखित राजीनामा भने बुझाएका छैनन् ।