नेपाल र रुवान्डाबीच लगानीमा साझेदारीको सम्भावना : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुवान्डाबीच व्यापार, पर्यटन, लगानीका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताएका छन् । रुवान्डाको स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालको चिया, जडीबुटी र हस्तकला र रुवान्डाको प्रविधि, कृषि प्रशोधन र पर्यटन व्यवसायबीच सहयोगको सम्भावना रहेको बताए । नेपाल र रुवान्डाबीच भन्सार सुधार, डिजिटल उपकरणको प्रयोग, व्यवसायको सहजता प्रवर्द्धन, संयुक्त व्यापार मञ्च र लगानी प्रवर्द्धनमा सहकार्य गर्न सकिने उनले उल्लेख गरे । उनले रुवान्डाले व्यवसाय गर्न सहज बनाउन गरेको सुधारको चर्चा गरे । रुवान्डा विकास बोर्डको पहल, एक दिनमै कम्पनी दर्ता हुने प्रक्रिया र लगानीमैत्री वातावरणले प्रविधि, वित्त, उत्पादन र पर्यटनमा विदेशी लगानी आकर्षण गरेको उनले बताए ।

कफी, चिया, पर्यटन र पूर्वाधार विकासमा भएको प्रगति नेपालीले पनि सिक्ने विषय भएको उनले बताए । रुवान्डाको यात्राले हामीलाई देखाउँछ कि सानो देशले पनि ठूला कुराहरू हासिल गर्न सक्छ, अध्यक्ष ढकालले भने, “बलियो संस्थाहरू, सरकार र निजी क्षेत्रबीचको सहकार्य नै यसको आधार हो भन्ने कुरा हामीले रुवान्डाबाट सिक्न सक्छौँ । रुवान्डाको साहसिक रूपान्तरण यात्रा नेपालीका निम्ति प्रेरणाको स्रोत भएको उनले बताए । उनले सन् १९९४ मा भएको नरसंहारपछि रुवान्डाले शान्ति, एकता र प्रगति हासिल गर्न गरेको प्रयासलाई उच्च सम्मान प्रकट गरे । रुवान्डाले आफ्नो इतिहासको पीडादायी अध्याय समाप्त गरी विगत तीन दशकमा उल्लेखनीय प्रगति हासिल गरेको छ । रुवान्डाको अर्थतन्त्र विगतका वर्षहरूमा ७ देखि ८ प्रतिशत वार्षिक वृद्धिदरमा भइरहको छ । बलियो नेतृत्व, जनताको परिश्रम र व्यवसायमैत्री नीतिहरू नै रुवान्डाको विकासको मुख्य आधार बनेको छ । यो सबैका लागि प्रेरणादायी कुरा हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *