अनौपचारिक क्षेत्रलाई औपचारिकमा लैजानका लागि राज्यले हरेक हिसाबले सहुलियत दिनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औपचारिकीकरणले व्यवसायलाई कानूनी सुरक्षा, वित्तीय पहुँच, श्रम अधिकार प्रदान गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अनौपचारिक क्षेत्रहरु औपचारिक नबन्दासम्म उत्पादकत्व वृद्धि, राजस्व संकलन, लगानीमैत्री वातावरण बन्न कठिन हुने बताएका हुन् । उनका अनुसार अहिले पनि मुलुकमा अनौपचारिक क्षेत्र ठूलो छ । ती क्षेत्र औपचारिकीकरण हुनुपर्छ र नभएसम्म अर्थतन्त्र विस्तार हुन सक्दैन । अध्यक्ष ढकालले अहिले पनि व्यवसाय दर्ता जटिल रहेको बताए । करका बारेमा समेत अन्योलता रहेको र औपचारिक क्षेत्रलाई सरकारले नियमनको नाममा केही दुःख दिँदा अनौपचारिक क्षेत्र औपचारिक हुन डराइरहेको उल्लेख गरे । यसमा राज्यले गम्भीतापूर्वक सोच्न जरुरी रहेको जानकारी दिए । महासंघका अध्यक्ष ढकालले भने– ‘अनौपचारिक क्षेत्रलाई औपचारिकमा लैजानका लागि राज्यले हरेक हिसाबले सहुलियत दिनुपर्छ । प्रोत्साहन गरियो भने मात्रै सबै क्षेत्रहरु औपचारिक हुनसक्छन् । सबै क्षेत्र सिस्टममा गएपछि बल्ल प्रतिस्पर्धी वातावरण बन्छ ।
मोटरसाइकल र गाडीहरु बाहेक अरु सबै चिज सबै नेपालमा आयो, तर त्यसले फर्मल किसिमको व्यवसायी वातावरणलाई निरुत्साहित बनायो । त्यसैले हरेक क्षेत्रलाई सिस्टममा ल्याउनुपर्छ ।’ अध्यक्ष ढकालकाअनुसार व्यवसायको औपचारिकीकरण अब विकल्प होइन, यो एकदमै आवश्यकता हो । निजी क्षेत्रले आफ्नो फाइदाका लागि मात्रै कुरा उठाउछन् भन्ने भाष्य कतिपय बेला बनाइने गरिएको छ तर अहिले पूर्णरुपमा परिवर्तन भएको छ । अहिले राज्य संचालन गर्नेहरुले पनि निजी क्षेत्रले भन्दै आएका कुराहरुलाई बुझ्दै जानु सकारात्मक रहेको ढकालको भनाइ छ । अध्यक्ष ढकालले पछिल्लो समय सरकारले निजी क्षेत्रका कुरा सुनेर पोलिसीहरु बनाउन थालेको बताए । यो एकदमै सकारात्मक रहेको र जसकारण मुलुकमा लगानीको वातावरण बन्दै गएको जानकारी दिए । लगानीमैत्री वातावरणका लागि नीजि क्षेत्रमैत्री नीतिहरु अपरिहार्य रहेको अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले सरकारले आहिले गरेको नीतिगत सुधारले मुलुकमा लगानीको वातावरण बन्दै गएको छ । यसले मुलुकभित्र लगानी वृद्धि गर्न सघाउ पुग्नेछ । उद्योग वाणिज्य महासंघ स्वयमः व्यवसायमैत्री वातावरण सिर्जना गर्ने कार्यमा लागिरहेको ढकालले जानकारी दिए ।