मंगलम इन्डष्ट्रिजमा अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको झण्डै ३८ करोड रुपैयाँको रणनीतिक लगानी
काठमाडौं । मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले अवसर इक्वीटी डाइभर्सिफाइड फण्डबाट झण्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी हासिल गरेको छ। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार नेपालमा उच्च वृद्धिसम्भावना भएका व्यवसायहरूमा लगानी गर्दै आएका निजी इक्विटी फण्डबाट प्राप्त यो लगानी एमआईएलको वृद्धिविकास यात्रा तथा लगानीकर्ताको गहिरो विश्वासको संकेत भएको उल्लेख गरिएको छ। कम्पनीका अनुसार यस लगानीबाट कार्यसञ्चालन प्रक्रियामा सुधार, उत्पादनमा नवप्रवर्तन तथा नेपालसहित बाह्य बजारमा उपस्थिति विस्तार गर्ने लक्ष्य रहेको छ।
साथै, यो लगानी कम्पनीको वित्तीय अवस्था सुदृढ गर्दै दीगो तथा उत्कृष्ट व्यवसाय अभ्यासतर्फ थप प्रतिबद्ध हुन प्रयोग गरिने बताइएको छ । मंगलम इन्डष्ट्रिजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनव चुरिवालले भने, हामी अवसर इक्वीटी डाइभर्सिफाइड फण्डलाई हाम्रो रूपान्तरण यात्रामा रणनीतिक साझेदारका रूपमा स्वागत गर्न पाउँदा खुशी छौं। यो लगानीले हाम्रो व्यवसायिक मोडेललाई पुनर्पुष्टि मात्र नगरी, सरोकारवालाहरूका लागि पनि ठूलो उत्प्रेरणा दिएको छ। अवसर इक्वीटी डाइभर्सिफाइड फण्डसँगको सहकार्यबाट कम्पनीले नयाँ अवसरहरूको खोजी गर्दै नवप्रवर्तन र गुणस्तरमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा राखेको विज्ञप्तिमा उल्लेख छ।