कृषि मन्त्रीले सार्वजनिक गरे एक वर्षको उपलब्धि
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी कृषकहरूलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरू भएको बताएका छन् ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दे मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानहरूको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गरे ।
मन्त्री अधिकारीले यो अवधिमा आफ्नो सोच अनुरूपका सबै काम गर्न नसके पनि मेरो प्रयास मुलुकको समग्र कृषि क्षेत्रको सुधार र किसानका पक्षमा रहेको यस अवधिमा म र मन्त्रालयमार्फत भएका निर्णयहरूले पनि पुष्टि गरेको बताए । उनले भने, ‘‘कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड हो र लाखौँ नेपालीको जीविकोपार्जनको आधार हो। यसैलाई मध्यनजर गर्दै मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानहरूको जीवनस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएका छौँ ।’
यस अवधिमा विगत लामो समय देखि समस्याका रूपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको, जसमा रासायनिक मल खरिदसम्बन्धी नियमावली संशोधन र रासायनिक मल वितरण सम्बन्धी कार्यविधि संशोधन गरिएको र यसबाट रासायनिक मल आपूर्ति तथा वितरण व्यवस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीले उल्लेख गरे ।