मन्त्री पाण्डेले गरे पशुपतिनाथ मन्दिरको अनुगमन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपतिनाथ मन्दिरको अनुगमन गरेका छन् ।

धार्मिक आस्थाको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिने साउन महिनाको सोमबारको दिनलाई शिवभक्तहरूका लागि विशेष दिन मानिन्छ र पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । अनुगमनका क्रममा मन्त्री पाण्डेले पशुपतिनाथ क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गरेका हुन् ।

उनले दर्शनार्थीसँग समेत कुराकानी गरेका छन् । दर्शनार्थीहरुले पनि छोटो समयमा सहज र शान्तिपूर्ण रूपमा दर्शन गर्ने वातावरण मिलाइएकोप्रति मन्त्री पाण्डेको प्रशंसा गरे । यस वर्षको साउनको पहिलो सोमबारको दिन दिउँसो २ बजेसम्म करिब एक लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरिसकेका छन् । भक्तजनको सहज आवागमनका लागि गौशाला र तिलगंगासम्म सटल बस सेवा सञ्चालनमा ल्याइएको छ, जसले पैदल यात्रुहरूलाई राहत दिएको छ ।

अनुगमनका क्रममा मन्त्री पाण्डेले शान्तिपूर्ण तथा अनुशासित रूपमा दर्शन गरिरहेका भक्तजनप्रति आभार प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायहरूलाई सक्रिय रहन निर्देशन समेत दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *