हिमालयन बैंकको एफपीओमा ४.४३ गुणा बढी आवेदन

काठमाडौं । हिमालयन बैंकको एफपीओमा ४.४३ गुणा बढी आवेदन परेको छ । आवेदन दिन सकिने अन्तिम दिन आइतबार सम्म बैंकको एफपीओमा १७ लाख ८६ हजार ७ सय ८२ जनाले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताका लागि आवेदन दिएका हुन् । बैंकले असार ३२ गतेबाट प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ताका एफपीओका लागि आवेदन माग गरेको थियो । बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले एफपीओ जारी गरेको हो ।

हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको सार्वजनिक निष्कासन गरेको थियो । अब बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *