बिपीको सपना साकार पार्न लागेका छौँ : ऊर्जामन्त्री

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देखेको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताएका छन् ।

महामानव बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित ‘बिपी स्मरण कार्यक्रम’मा ऊर्जामार्फत बिपी कोइरालाले देखेको समृद्ध मुलुक निर्माणको सपना पूरा गर्न लागेको बताएका हुन् । मन्त्री खड्काले बिपी कोइरालालाई नेपाली जनचेतना र अधिकारका प्रतीकका रूपमा स्मरण गरे । “बिपी कोइराला अन्तरराष्ट्रिय ख्याति प्राप्त व्यक्तित्व मात्र होइन, उहाँको आदर्श, दृष्टिकोण र जीवनशैली आजको राजनीतिक सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी छन्”, मन्त्री खड्काले भने ।

उनले बिपीले आफ्नो व्यक्तिगत जीवनको सुख सुविधा र सुरक्षाभन्दा विचार तथा मूल्यलाई महत्व दिएको बताए । मन्त्री खड्काले बिपी कोइरालाको दीर्घ सङ्घर्षले नेपाली जनतालाई रैतिबाट नागरिक बनाउने प्रक्रिया अघि बढाएको उल्लेख गरे । “बिपीले जेल, यातना र आत्मनिवेदन सहनुभयो । तर, जनताप्रति विश्वास गुमाउनु भएन, आज पनि उहाँले देखाएको बाटो हाम्रो मार्गदर्शन हो”, उनले भने ।

राज्यले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने दायित्वबोध बिपीको राजनीतिक दर्शनमा स्पष्ट रूपमा झल्किने उनको भनाइ थियो । मन्त्री खड्काले बिपीको सम्पूर्ण जीवन नेपाली जनता र राष्ट्रहितमा समर्पित रहेको स्मरण गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *