बिपी विचारको सान्दर्भिकता

बहु आयामिक व्यक्तित्वका धनी, नेपाली समाजमा मृत्युपर्यन्त सर्वाधिक लोकप्रिय विश्वेश्वर प्रसाद कोइरालाको मृत्यु भएको ४३ वर्ष पुरा भएको छ । यसै हप्ता उहाँको ४४ औँ स्मृति दिवस मनाइयो । नेपाललाई नयाँ र आधुनिक युगमा प्रवेश गराउने नेता मध्ये उहाँ विशिष्ट गुण भएका नेतामा पर्नुहुन्थ्यो ।

राणा शासनको अन्धकारबाट मुक्त गराएर नेपाललाई प्रजातन्त्रको उज्यालो युगमा प्रवेश गराउन टङ्क प्रसाद आचार्य समेतका अनगिन्ती योद्धाको अतुलनीय योगदान छ । तर बिपी जत्तिको दूरदर्शी, समर्पित, त्यागी र सहाशी नेता समकालीन राजनीतिमा विरलै भेटिए । बिपी कोइरालाले साहित्य र राजनीतिलाई समानान्तर रेखामा हिँडाउने कोसिस गर्नुभयो । प्रथम जन निर्वाचित प्रधानमन्त्री भएकाले मात्र होइन आफ्नो लगन, त्याग र समपूर्णले देशको राजनीतिलाई पथप्रदर्शन गर्न सक्षम नेतामा कोइरालाको कुनै विकल्प थिएन । राणा शासन विरुद्धको सङ्घर्ष ०१५ सालको चुनाव, ०१७ सालको काण्ड र त्यसपछि जेल र निर्वासनले पनि उहाँलाई गलाउन सकेन । युवा उमेरमै प्राणघातक क्यान्सर रोगबाट पीडित कोइराला सदैव आफ्नो स्वास्थ्यलाई भन्दा देशको स्वास्थ्यलाई महत्त्व दिनुहुन्थ्यो । रोगसँग लड्दा लड्दै र प्रजातन्त्र र राष्ट्रको चिन्ता गर्दा गर्दै २०३९ साउन ६ गते उहाँको निधन भयो ।

उहाँको निधन भएको झन्डै आधा दशक बितेको छ र पनि उहाँको बारेमा प्रत्येक दिन कुनै न कुनै कोणबाट चर्चा भइरहन्छ । नेपाली समाजमा समाजवादको व्याख्या दिने प्रथम पुरुषको रूपमा मात्र उहाँलाई बुझ्नु पनि गलत हुन्छ । उहाँले नेपाली काँग्रेसलाई समाजवादी सिद्धतामा आबद्ध गराएर नेपाली समाजलाई समानता, स्वतन्त्रता र मातृत्वको बाटोमा डो¥याउन अथक प्रयास गर्नुभयो । नेपाललाई विश्व जगातमा चिनाउन, आधुनिक युगमा प्रवेश गराउन र प्रजातन्त्रमा जनताले के पाउँछन्, किन प्रजातन्त्र आवश्यक छ भन्ने सम्बन्धमा पनि स्पष्ट दृष्टिकोण दिनुभयो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको व्याख्या दिएर आफ्नो दल नेपाली काँग्रेसलाई त्यो गोरेटोमा डो¥याउने कोसिस उहाँले हरदम गरिरहनुभयो । नेपाली काँग्रेस आज पनि बिपीकै सिद्धान्तलाई पछ्याउँछ भनिन्छ तर यथार्थमा त्यस्तो स्थिति छैन । काँग्रेस अहिले समाजवादबाट कोसौँ टाढा पुगिसकेको छ । हुन त समाजवाद कुनै जड बस्तु र अपरिवर्तनीय सूत्र होइन । समाज परिवर्तनको गति सँगै यसलाई पनि परिवर्तन गर्न सक्नुपर्छ । तर अहिले नेपाली काँग्रेसले मात्र होइन अन्य कुनै दलले पनि त्यसो गरेको देखिँदैन । समाजलाई अग्र गति दिन सिद्धान्त मात्र काफी छैन । त्यसै अनुसारको व्यवहार पनि चाहिन्छ ।

अहिले दलहरूले सिद्धान्त मात्र छाडेका छैनन् व्यवहारलाई पनि त्यागी सकेका छन् । बिपी जहिले पनि सिद्धान्त र व्यवहारलाई तालमेल गराउन खोज्ने डाई नामिक लिडर हुनुहुन्थ्यो । उहाँको राजनीतिक सोच र शैलीलाई संवृद्ध गराउने अर्को अत्यन्तै सशक्त पक्ष साहित्य थियो । सिद्धहस्त साहित्यकार बिपी गौतम वृद्धपछिका लोकप्रिय नेपाली पृथ्वीनारायण शाह, लक्ष्मीप्रसाद देवकोटाको हाराहारीमा लोकप्रिय हुनुहुन्छ । तर त्यो लोकप्रियताको पुँजी भजाएर खान खोज्ने, त्यसको विरासतमा पार्टीलाई सत्तामा पु¥याउन खोज्ने प्रवृत्ति आज जुन रूपमा देखिँदै छ त्यो भने घातक छ । बिपी नेपालीहरूका सम्पत्ति हुनुहुन्छ । त्यसलाई हामीले नेपाल र नेपालीको हितमा खर्च गर्न सक्छौँ । नेपाली काँग्रेस उहाँले जन्माएको हुर्काएको पार्टी हो । त्यही मार्फत उहाँको विचार, दृष्टिकोण र सिद्धान्तलाई वाणी दिन सकिन्छ । तर उहाँको पार्टी आज अनेक स्वार्थले ग्रसित भएको छ । उहाँको अनुज पुस्ता विकृति र विसङ्गतिका कारक बनेका छन् । यस्तै अवस्थामा उहाँको राजनीतिक सिद्धान्तको उत्तराधिकारी नै नभेटाउनु स्वाभाविक हो ।

अहिले साहित्यमा मात्र होइन राजनीतिमा पनि उहाँको विचार बोकेर हिँड्ने, त्यसलाई नेपाली समाजमा लागु गर्ने संस्था वा व्यक्तिको अभाव स्पष्ट रूपले नै खड्केको छ । पुरानो पुस्ताको काङ्ग्रेसबाट त्यो दायित्व पुरा हुन सकेन भने नयाँ पुस्ताले सशक्त रूपमा त्यो दायित्व उठाउन तत्पर रहनुपर्ने बेला आएको छ । आज पनि सान्दर्भिक देखिएको बिपीको समाजवादलाई समयानुकूल व्याख्या गरेर लागू गर्न काङ्ग्रेसभित्र युवा पुस्ताले अग्रसरता देखाउनुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *