स्वयम्भूमा एक महिने मेलाको तयारी पूरा

काठमाडौँ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरेको छ ।

श्रावण शुक्ल प्रतिपदा (भोलि) देखि भाद्र शुक्ल प्रतिपदासम्म लाग्ने एक महिने मेलाका अवसरमा महासमितिको अगुवाइमा स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रका जङ्गलमा सरसफाइ गरिएको हो । सरसफाइका क्रममा सङ्कलन भएको फोहरमध्ये कागज, कपडा, प्लास्टिक र सिसा पुनःचक्रणका लागि पठाइएको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिए । कुहिने फोहर मात्र ल्यान्डफिल साइट पठाइने उनले बताए । उनका अनुसार प्रत्येक वर्ष लाग्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलालाई व्यवस्थित बनाउन सो क्षेत्रमा सरसफाइका साथै रङरोगन, सडकबत्ती जडान गरिएको छ ।

नेवार समुदायका बौद्ध धर्मावलम्बीले एक महिना मेलाको अवधिमा स्वयम्भू चैत्यको दर्शन गर्न तथा धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने प्रचलन छ । नेपाल संवतको नौ महिनामा पर्ने गुँला पर्वमा विभिन्न प्रकारका बाजा बजाउँदै स्वयम्भू चैत्यको पूजाआजा गर्नाले दिवङ्गत पितृको बैकुण्ठबास हुने विश्वास रहेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट धर्मावलम्बीले मेलामा सहभागिता जनाउने गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *