हिमालयन लाइफ इन्स्योरेन्सलाई ‘ए प्लस’ रेटिङ
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडबाट ‘ए प्लस’ इश्युअर रेटिङ आईआरएन एं (आईएस) प्राप्त गरेको छ। यो रेटिङ पाउने संस्थाहरूको वित्तीय दायित्व समयमा पुरा गर्ने पर्याप्त सुरक्षा रहेको मानिन्छ र यस्ता कम्पनीहरूमा जोखिम न्यून रहेको ठहरिन्छ। यो रेटिङ कम्पनीको विगतको अनुभव, पूँजी मजबूती, बजारको हिस्सेदारी, सञ्चालकहरूको क्षमतासहितको विविध पक्षमा आधारित छ। २०८० सालको जेठ महिनामा प्राइम लाइफ इन्स्योरेन्स (२०६४ देखि सञ्चालन), गुराँस लाइफ इन्स्योरेन्स (२०६५ देखि) र युनियन लाइफ इन्स्योरेन्स (२०७४ देखि) एक आपसमा गाभिएर नयाँ कम्पनीको रूपमा हिमालयन लाइफ इन्स्योरेन्स स्थापना गरिएको हो। गाभिएपछि कम्पनीको पूँजी आधार उल्लेख्य रूपमा बढेको छ जसले जोखिम सामना गर्ने क्षमतामा सुधार ल्याएको छ। साथै कम्पनीको सम्पत्ति, सञ्चालन दायरा र बजारको हिस्सामा पनि उल्लेखनीय वृद्धि भएको छ। अहिले हिमालयन लाइफ देशकै ठूला जीवन बीमा कम्पनीहरूमध्ये एक बनेको छ। कम्पनीको प्रवर्द्धकहरूमा लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ भने संंरक्षणमा शंकर समूहजस्तो प्रतिष्ठित समूह रहेको छ। व्यवस्थापन पक्ष पनि अनुभवी र विविध पृष्ठभूमिका व्यक्ति मिलेर बनेको छ।
पुनर्बीमा व्यवस्थापन पनि सन्तोषजनक रहेको छ जहाँ प्रति पॉलिसी केवल ५ लाख रुपैयाँ मात्र जोखिम राखिएको छ। त्यसका साथै, प्राकृतिक विपत्तिका दाबीहरूका लागि पनि छुट्टै पुनर्बीमा गरिएको छ। बीमा नियमन निकाय नेपाल इन्स्योरेन्स प्राधिकरणले तोकेको न्यूनतम सॉल्भेन्सी अनुपात १.३ गुणा हो भने कम्पनीको अनुपात ३.८६ गुणा रहेको छ, जुन पर्याप्त मानिन्छ। हाल कम्पनीले देशभर सातै प्रदेशमा २०९ वटा शाखामार्फत सेवा दिइरहेको छ। तीमध्ये ८४ वटा मुख्य शाखाहरू र १२५ वटा उपशाखाहरू रहेका छन्। बीमा बिक्री तथा सेवा विस्तारका लागि कम्पनीले १२९ वटा कर्पोरेट एजेन्सीहरूमार्फत आफ्नो नीति वितरण गरिरहेको छ भने व्यक्तिगत एजेन्टको संख्या १ लाख ६३ हजार ३९४ पुगेको छ, जुन २०२५ अप्रिलको मध्यसम्मको तथ्याङ्क हो। कम्पनीमा प्रवर्द्धक र सर्वसाधारण शेयरधनीको स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशतको अनुपातमा बाँडिएको छ। प्रमुख प्रवर्द्धकहरूमा लक्ष्मी बैंक लिमिटेड, राजेन्द्र खेतान, पूजा अग्रवाल खेतान र विवेक दुगड रहेका छन्।