कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण
काठमाडौं । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् ।
जसमा तीन जनाको मृत्यु भएको उनले बताए । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्याङ्कले देखाएको छ । हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले जानकारी दिए । उनले विगत ५० वर्षको अवधिमा विश्वमा डेङ्गुको सङ्क्रमण ३० गुणाले बढेको पाइएको बताए । उनले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरूद्वारा खोजपड्ताल र नष्ट गर्ने कार्यक्रम भइरहेको बताए ।
निर्देशनालयकी अधिकृत खत्रीले एडिज एजिप्टाई जातको लामखुट्टेले दिउँसो टोकेमा डेङ्गुको सङ्क्रमण हुने हुँदा पूरा बाहुला भएको वा शरीर पूरै ढाकिने लुगा लगाउन अनुरोध गरे ।