सौराहामा बन्यो पाँचतारे होटल ‘रोयल टुलिप’
काठमाडौं । केटीएम हस्पिटालिटीले चितवनको सौराहामा डेढ अर्ब रुपैयाँ लगानीमा बनाएको पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप’ आगामी अक्टोबरबाट सञ्चालनमा ल्याएको भएको छ । कम्पनीले १ अर्ब ५५ करोड १० लाख रुपैयाँ लगानीमा रोयल टुलिप ब्रान्डमा होटल बनाएको हो । होटल सन् २०२५ को अक्टोबरबाट सञ्चालनमा ल्याउने भएको हो । कम्पनीले गत जुलाईबाट नै सामान्य रुपमा होटल सञ्चालनमा ल्याइसकेको छ । तर, आगामी अक्टोबरबाट भने उद्घाटन गरेर पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी गरेको छ । हाल पहिलो चरणमा कारोबार भइरहेको कम्पनीले जनाएको छ । कम्पनीअनुसार हालसम्ममा होटलको ९९ प्रतिशत भौतिक कार्य सम्पन्न भएको छ ।
कम्पनीले ७६.५ः२३.५ लगानीको अनुपात राखेको थियो । सन् २०२० मा दर्ता भएको कम्पनी सन् २०२४ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको छ । कम्पनीले सौराहामा ६५ कोठाको सुविधाका साथ ४.१२ हेक्टर क्षेत्रफलमा लक्जरियस पाँचतारे होटल बनाइरहेको छ । कम्पनीले होटल व्यवस्थापनको लागि सरोभर होटल प्रालिसँग सम्झौता गरेको छ । लुभ्र होटल ग्रुपद्वारा होटलको व्यवस्थापन हुने छ । कम्पनीले होटलमा रेष्टुरेन्ट, जीम र फिटनेस सेन्टर, हेलिप्याड, हेल्थ क्लब, स्वीमिङ पुल र पार्किङको सुविधा हुने जनाएको छ । केटीएम ग्रुप होल्डिङ्सका अध्यक्ष रामेश्वर साहको लगानीमा उक्त होटल निर्माण भएको हो । उनले विगत २५ वर्षदेखि नेपाल तथा अन्तर्राष्ट्रिय रुपमा सेक्युरिटी सर्भिसको कार्य गर्दै आएका छन् । उनी गैरआवासीय नेपाली संघको उपाध्यक्ष र आउटसोर्सिङ नेपालको अध्यक्षसमेत भएका व्यक्ति हुन् । साहले नेपाल सरकारको केन्द्रीय श्रम सल्लाहकार परिषद् र नेपाल उद्योग वाणिज्य महासंघ र सीएनआईका रोजगारदाता परिषद्मा नीति तथा सल्लाहकारको रुपमा काम गरिसकेका छन् ।