चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड

भक्तपुर । भक्तपुरस्थित चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको छ ।

विश्व सम्पदा सूचीमा सूचिकृत सो मन्दिरमा आज नागपञ्चमीको मेला भर्ने भक्तजनको घुइँचो लागेको हो । चाँगुनारायण मन्दिरमा पूजा एवं दर्शन गरेपछि घरघरमा नाग टाँस्ने प्रचलन छ । बिहानदेखि मध्यपुरथिमिबाट आएको गुँला बाजाले मन्दिर प्रदक्षिणा गरेको छ । मन्दिरदेखि दक्षिणतर्फ ओरालोमा रहेको ऐतिहासिक शङ्खदह (साङ्ग दह) मा स्नान गर्न आउनेको पनि भीड छ । शङ्ख दहमा स्नान गर्ने, पूजा गर्ने र दान गर्नेको भीड लागेको मन्दिरका पुजारी आभास राजोपाध्यायले जानकारी दिए । शङ्खदहमा स्नान गरेर चाँगुनारायण मन्दिरमा आएर शिव र विष्णुको पूजा गर्ने परम्परा छ ।

चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले हरेक वर्ष नागपञ्चमीमा बिहानदेखि दिनभर दर्शनार्थीको भीड लाग्ने बताए । उनले मन्दिरभित्र भक्तजनले एकै पटक शिव र विष्णुको दर्शन गर्ने बताए । उनले भने, ‘नागपञ्चमी नाग देवतासँग सम्बन्धित छ । आज दिनभर दर्शनार्थीको भीड लाग्ने गर्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *