प्रधानमन्त्रीको स्वागतमा हिँडेका दुई मन्त्रीको गाडी आपसमा ठोक्किए
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री चढेका सवारीसाधन आपसमा ठोक्किने घटना मंगलबार दिउँसो कैलालीको चिसापानीमा भएको हो । भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका दुईवटा गाडी एकअर्कासँग ठोक्किएका हुन् । उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने कार्यक्रममा सहभागी हुन चिसापानी जाँदै थिए।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार, मन्त्री सार्की सवार से.१ झ ३३० नम्बरको गाडी र मन्त्री पाल सवार बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन् । घटना दिउँसो करिब १: १५ बजे भएको हो । डीएसपी सिंहका अनुसार, गाडीमा सामान्य क्षति भए पनि मानवीय क्षति भने छैन ।