कांग्रेसले आज बागमतीमा संसदीय दलको नेता चयन गर्दै
काठमाडौं । नेपाली कांग्रेसले आज बागमती प्रदेशमा संसदीय दलको नेता चयन गर्दैछ । मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामालाई अविश्वासको प्रस्ताव गरेर हटाएपछि आज नयाँ नेता चयन गर्न लागिएकी हो । लामाविरुद्धको अविश्वासको प्रस्तावको टुंगो मंगलबार लागेको थियो । अविश्वासको प्रस्तावको पक्षमा ३७ मध्ये २२ मत परेको थियो भने लामाको पक्षमा १५ मत । अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि लामाले दलको नेताको हैसियत गुमाएका थिए । नयाँ नेता चयन गर्न कांग्रेस बागमती प्रदेशले मंगलबार नै निर्वाचन समिति गठन गरेको थियो ।
हरिशरण श्रेष्ठको संयोजकत्वमा गठित समितिले आज बुधबार नै चुनाव गराउन लागेको हो । संयोजक श्रेष्ठले निर्वाचन कार्यतालिका सार्वजनकि गरेका छन् । निर्वाचन कार्यतालिका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मतादान हुनेछ । मतदान संसदीय दलको कार्यालय परिसरमै हुनेछ । त्यसअघि बिहान ८ बजे मतदाता नामावली प्रकाशन, १० देखि ११ बजे उम्मेदवारी दर्ताको समय तोकिएको छ । दलको नेताका लागि बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव गर्ने सांसदहरुको पक्षबाछ इन्द्रबहादुर बानियाँ उम्मेदवार हुनेछन् । लामाको पक्षबाट उनी आफैं हुने वा अरुलाई उठाउने भन्ने टुंगो छैन । अविश्वासको प्रस्ताव गर्ने सांसदहरूले बानियाँलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर, दलको नेता गुमाए पनि लामाले मुख्यमन्त्री नछोड्ने बताएका छन् ।