पछिल्लो एक वर्षमा विदेशमा ज्यान गुमाएका एक हजार ४०१ जनाको शव नेपाल ल्याइयो
काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा ज्यान गुमाएका एक हजार ४०१ जनाको शव परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीहरूको शव सम्बन्धित परिवारलाई बुझाइएको जनाएको हो । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु हुनेमा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यस उमेर समूहका २३३ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ ।
त्यस्तै २० वर्षभन्दा कम उमेरका २९ जना, २१ देखि २५ वर्षका १७२ जना, ३१ देखि ३५ वर्षका २२६ जना, र ३६ देखि ४० वर्षका २२५ जनाको शव नेपाल ल्याइएको छ । ४१ देखि ४५ वर्षका २१५ जना, ४६ देखि ५० वर्षका ११७ जना, र ५१ देखि ५५ वर्षका ७१ जना रहेका छन् ।
त्यसैगरी ५६ देखि ६० वर्षका २४ जना, ६१ देखि ६५ वर्षका १२ जना, ६६ देखि ७० वर्षका १२ जना र ७० वर्षभन्दा माथिको उमेर समूहका ६५ जनाको शव नेपाल ल्याएर परिवारलाई हस्तान्तरण गरिएको हो । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका मृतकका परिवारलाई सरकारले १० लाख रूपैयाँ राहत दिँदै आएको छ ।