कुम्भेश्वर महिला साकोसले मनायो १५औं स्थापना दिवस
ललितपुर । कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी १५औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा आज सदस्य शिक्षा तथा विस्तारित मञ्च कार्यक्रमको आयोजना गरेको हो । सहकारी शिक्षा मार्फत सदस्यहरुलाई बचत र ऋणको महत्व बुझाउने उदेश्यले विस्तारित मञ्च कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ । संस्थाकी अध्यक्ष शान्तलक्ष्मी खड्गीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी सचिव सफलता खड्गीले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा अध्यक्ष खड्गीले संस्थाको विगतदेखि हालसम्मको वित्तीय विवरणका साथै सदस्यहरुलाई सहकारी सम्बन्धी प्रशिक्षण दिइएकी थिइन् । उनले सुरुमा महिला बचत समुहमार्फत् मासिक एक सय रुपैयाँ बचत गर्दै आएको र बचतऋणको कारोबारलाई कानुनी मान्यता दिन केहि समयपछि सहकारी संस्थामा रुपान्तरण गरिएको बताइन् । २०६७ सालमा बचत समुहलाई डिभिजन सहकारी कार्यालय ललितपुरमा विधिवत् दर्ता गरी वित्तीय कारोबार गर्न सुरु गरेको पन्ध्र बर्ष पुरा भई १६ बर्ष लागेको उनले बताइन् । उनले मासिक बचतलाई प्राथमिकता दिएकाले संस्थामा आवद्ध सदस्यहरुले नियमित रुपमा ३ सयदेखि एक हजारसम्म मासिक बचत गर्ने गरेको उनको भनाई छ । अहिले संस्थामा मासिक बचतको हिस्सा ४ करोड ६२ लाख पुगेको छ । बजारमा सहकारीप्रति नकारात्मक सन्देश फैलिएको समयमा पनि सदस्यहरुले संस्थालाई विश्वास गरेर आजको अवस्थामा ल्याइपु¥याउन सफल भएको र गत असार मसान्तसम्म संस्थाको कुल सम्पत्ति २० करोड पुगेको उनको भनाई छ । सुरुमा ४ लाख ७२ हजार शेयर पुँजी र २५ लाख बचतबाट सुरु गरिएको संस्थाको आर्थिक बर्ष २०८१÷८२ को असार मसान्तमा १ करोड २५ लाख शेयरपुँजी र १७ करोड ऋण लगानी पुगेको छ । संस्थाले सदस्यकेन्द्रीत बचत तथा ऋण लगानी गरेको र सञ्चालकहरुले घरजग्गा जस्ता कुनै पनि क्षेत्रमा लगानी नगरेको उनले बताइन् । संस्थालाई सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गरेको कारण सदस्यको विश्वास बढेर गएको भन्दै उनले २५ जना सदस्यबाट सुरु भएको संस्थामा अहिले ८ सय माथि महिला सदस्य आवद्ध भएको बताइन् । पछिल्लो समय बचतऋण सहकारीहरूको नियमनको लागि सहकारी नियमन प्राधिकरण गठन भइसकेको र अब संस्थाहरू थप सुरक्षित भएर सञ्चालित हुने उनले बताइन् । प्राधिकरणले जारी गरेको निर्देशनमा सदस्य र सञ्चालक दुवैका समेटिएको अनुशासित भएर संस्था सञ्चालन गर्नुपर्ने उनले जनाइन् । संस्थाले सदस्यहरुलाई लक्षित गरी नियमित, ऐच्छिक, विशेष नारी, सुनौलो भविष्य, पेन्सन, भ्रमण भविष्य, जेष्ठ नागरिक तथा बालबचत खाता सञ्चालनमा ल्याएको छ ।
कार्यक्रममा उनले आफुले कमाएको रकमबाट भविष्यको लागि विभिन्न बचत स्कीममा सहभागी भएर बचत गर्न आग्रह गरिन् । अहिले गरेको ससानो बचतले भविष्य सुन्दर हुने भन्दै उनले भविष्यमा आइपर्ने खरखाँचोदेखि घरजग्गा खरिद तथा बालबच्चाको उच्च शिक्षामा समेत सहयोग पुग्ने जनाइन् । अध्यक्ष खड्गीले अहिलदेखि नै बचत गर्दै जाँदा भविष्यमा कुनै कार्य गर्नको लागि संस्थाबाट ऋण लिन नपर्ने र बुढेसकालको सहारा समेत हुने भन्दै दीर्घकालिन बचतमा जोडिन् सुझाइन् । त्यसैगरी उनले संस्थाबाट ऋण लिएर फजुल खर्च गर्ने भन्दा पनि आयआर्जन हुने क्षेत्रमा लगानी गर्न सल्लाह दिइन् । उनले अहिले देखासिखी गर्ने प्रवृत्ति बढेर गएको भन्दै विवाह, ब्रतबन्ध र भोजभतेर गर्न समेत ऋण लिनु गलत भएको उल्लेख गरिन् । अनावश्यक ऋण नलिन उनको सुभाव छ । फजुल र देखाउनकै लागि खर्च गर्ने बानीले अनावश्यक खर्च बढाउने भएकाले वित्तीय योजना बनाएर मात्र खर्च गर्न उनले आग्रह गरिन् । संस्थाले सदस्यहरुलाई शिक्षित बनाउन विगतदेखि नै प्रौढ कक्षा, प्राविधिक तथा व्यवसायिक सीपमूलक तालिम समेत प्रदान गर्दै आएको छ । संस्थाले व्यवसायिक, व्यक्तिगत जमानी, घरजग्गा र शैक्षिक क्षेत्रमा ऋण लगानी गर्दै आएको छ । सो अवसरमा संस्थाकी कर्मचारी लक्ष्मी थामीले सदस्यहरुलाई वित्तीय साक्षरता प्रदान गर्दै आम्दानीबाट पहिले बचत छुट्याएर मात्र खर्च गर्न आग्रह गरिन् । आजको सानो बचतले भविष्य सुनिश्चित हुने भन्दै उनले दैनिक दश रुपैयाँ छुट्याएर मासिक बचत गर्न सकिने उल्लेख गरिन् । कार्यक्रममा संस्थाका पूर्व सञ्चालक, सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति, कर्मचारी र सदस्यहरुको उल्लेख उपस्थिति रहेको थियो ।