चक्रे मिलनसहित ४७ जना पक्राउ, २ वटा खुकुरी र रड बरामद
काठमाडौँ । गुन्डागर्दीको आरोपमा प्रहरीले चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूलाई बिहीबार राति पक्राउ गरेको हो । चक्रेले बिहीबार जन्मदिन मनाउने क्रममा चक्रपथस्थित सडकमै ठुलो भेला गरेर केक काटेका थिए । जन्मदिनको नाममा आतंक मच्चाएको सूचनापछि प्रहरीले उनलाई महाराजगन्जको एक होटेलबाट बेलुका पक्राउ गरेको हो । पक्राउ पर्ने अन्य उनकै समूहका व्यक्तिहरू छन् । सो समूहले आंतक मच्चाएको गुनासोको आधारमा पक्राउ गरिएको बताइएको छ ।
विगतमा गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका मिलन गुरुङको समूहबाट प्रहरीले खुकुरी पनि बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यकाअनुसार एउटा गाडीबाट २ थान खुकुरी बरामद भएको छ । साथै केही थान रडहरु पनि बरामद भएका छन् ।
उक्त खुकुरी र रडहरु आफ्नो सुरक्षाका लागि राखेको पक्राउ परेकाहरुले बताएको प्रहरीको भनाइ छ ।